काठमाडौँ । १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत् आयोजनामा नबिल बैंकको अगुवाई ५ बैंक तथा वित्तीय संस्थाले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुने आयोजनामा लगानी गर्न बुधबार (जेठ २ गते) प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रो पावर र लगानीकर्ताबीच सम्झौता भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितीमा भएको सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरे ।
आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।
नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।
ऊर्जा मन्त्री बस्नेतले तीन तहकै सरकारको सहभागिता रहने यस आयोजना जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निर्माण भएको पहिलो आंशिक जलाशय जलविद्युत् आयोजना रहेको बताए । ‘नेपालको जलविद्युत् विकासको यात्रा वा अभियानमा यो महत्वपूर्ण रहेको छ । विकास पछि परेको प्रदेशमा निर्माण हुने यस आयोजनालाई निर्धारित समय र लागतमा सम्पन्न गर्न आवश्यक सहयोग गर्नेछु’ उनले भने ।
ऊर्जा सचिव सुशिलचन्द्र तिवारीले जनताको लगानीमा निर्माण हुन लागेको आयोजनालाई निर्धारीत समय र लागतमा सम्पन्न गर्न तिनै तहका सरकारले सहकार्य गर्नुपर्ने बताए । उनले यो आयोजनाले ऊर्जा सुरक्षा प्रत्याभूति गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ४९ प्रतिशत जनताको लगानीमा निर्माण हुने यस आयोजनाको निर्माण पूर्वको सबै काम पूरा भएको जानकारी दिए । ‘आगामी वर्षबाट आयोजनास्थलमै निर्माण सुरु गर्छौ । पिछडिएको कर्णाली प्रदेशको मेरुदण्डको रुपमा लिइएको यस आयोजना निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । समयमा नै पूरा गर्न कम्पनी प्रतिवद्ध रहेको छ’ उनले भने ।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले आयोजनाको काम निर्धारित समय र लागतमा सम्पन्न गर्न आग्रह गरे । ‘सरकारी आयोजनाहरु समयमा सकिदैन भन्ने एउटा डर छ । तर यसमा तिनै तहका सरकारको चासो र राजनीतिक दलका नेताको चासो देखिएकोले समयमै सम्पन्न हुने अपेक्षा छ’ उनले भने ।
आयोजनाको विवरण
आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।
अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।
पिपिए
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पिपिए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।
उत्पादन अनुमति
कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।