Friday, March 28, 2025
spot_img

उच्च हिमाली क्षेत्रमा निर्माणाधीन नुप्चे–लिखुको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’

spot_img

Share

spot_img

काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको हो ।

१४२६.५४ मिटर लामो हेडरेस सुरुङ बुधबार (जेठ २ गते) ‘ब्रेक थ्रु’ भएको कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए । ‘दुई वटा खोलाको पानी मिसाएर विद्युत् उत्पादन गर्ने हुँदा आयोजनाको दुई वटा हेड वर्क्स छ । लिखुतर्फको हेडरेस सुरुङको ‘ब्रेक थ्रु’ भएको छ’ उनले बिहीबार ऊर्जा संचारसँग भने, ‘दुई वटै हेड वर्क्सबाट करिब ७४५० मिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । बाँकी सुरुङको काम पनि ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ यसअघि २९९ मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसकेको छ ।

देशको सबैभन्दा बढी उचाईमा निर्माण भइरहेको यो आयोजनाको ७० प्रतिशत निर्माण पूरा भइसकेको छ । यस आयोजनाको बाँध समुन्द्र सतहदेखि ३३४० मिटर र विद्युतगृह करिब २६०० मिटर उचाइमा पर्दछ । लिखुतर्फको हेड वर्क्सको काम ९५ प्रतिशत पूरा भएको छ । नुप्चेतर्फको काम पनि तिव्र गतिमा भइरहेको छ । दुवै हेड वर्क्सकाे काम आगामी फागुनभित्र सम्पन्न गर्ने पनि अधिकारीले जानकारी दिए ।

अहिलेसम्म निजी क्षेत्रले निर्माण गरिरहेको आयोजनामध्ये नुप्चे लिखु सम्भवतः सबैभन्दा उच्च हिमाली क्षेत्रमा पर्दछ । आयोजनाबाट वार्षिक ३८१ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू ४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँको आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा जोडिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८२ साउनभित्र उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा माछापुच्छ्रे बैंकको अगुवाईमा हिमालयन बैंक, बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कुषि विकास, एनसिसी बैकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img