काठमाडौँ । ताप्लेजुङको त्रिवेनी गाउँपालिका र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्यास हुने भएको छ । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
बहुप्रतिक्षित र बहुचर्चित आयोजनाको शिलान्यास आगामी १० गते अर्थात बिहीबार गर्ने तय भएको संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बुले बताए । उनका अनुसार आयोजना अब निर्माणमा जान लागेको हो ।
नदी प्रवाही आयोजनाको निर्माण सम्पन्न गर्न कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ लाग्नेछ ।
आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । ‘अहिले आयोजनामा लगानी सम्झौताका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेका छौ,’ उनले ऊर्जा संचारसँग भने ।
मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दुरी बराबरको सुरुङमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो । उत्पादीत विद्युत् ६.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको हाङपाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
आयोजनाको काम २०८५ असोज २५ गतेभित्र सम्पन्न गर्नुपर्ने तालिका छ । तर, निर्माण सुरु भएको साढे ३ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
पिपिए
आयोजनाबाट उत्पादन भएको विद्युत् खरिदका लागि प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच २०८० असोज मै विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँले खरिद गर्नेछ ।
सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ ।
आयोजनाबाट उत्पादन हुने कूल विद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ । आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने जनाइएको छ ।
वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ ।