काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रअन्तर्गत करिब साढे ३ अर्ब रुपैयाँ विद्युत् महसुल बक्यौता उठाउन बाँकी रहेको छ । चालु आर्थिक वर्ष (आव) बैशााखसम्मको अवधिमा ट्रंक तथा डेडिकेटेड लाइन जोडेका उद्योगीसहित सबै प्रकारका ग्राहकको बक्यौता बढेर करिब साढे ३ अर्ब रुपैयाँ पुगेको हो ।
बैशाखसम्म केन्द्र अन्तर्गत ३ अर्ब ४३ करोड २२ लाख २३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । चालु आवको १० महिनामा मात्रै उद्योगी, घरयासी ग्राहक तथा सडकबत्ती प्रयोग गरेवापत २७ करोड ८१ लख ९७ हजार रुपैयाँ बक्यौता थपिएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार औद्योगिक ग्राहकको बक्यौता २ अर्ब २७ करोड १० लाख २२ हजार, सडकबत्तीको २१ करोड २८ लाख ३५ हजार र घरयासी ग्राहकको ५३ करोड ४५ लाख ६७ हजार रुपैयाँ बक्यौता बाँकी छ ।