काठमाडाैँ । आन्तरिक प्रसारण लाइन सुधार तथा नेपाल भारत विद्युत् व्यापारका लागि निर्माणाधीन ४०० केभी क्षमताकाे ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेकाे २८८ किलाेमिटर लामाे लाइनमार्फत ४५६ मेगावाटकाे माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह हुने जनाइएकाे छ ।
लाइनकाे पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अवरोध रहेकाे जनाइएकाे छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग लगायत समस्याका कारण रुग्ण बन्दै आएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थाना भर्याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइन निर्माण हुनेछ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको र त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
याे लाइन २ खण्डमा निर्माण भइरहेकाे छ । हेटौँडा–ढल्केबर खण्ड १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटर रहेकाे छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नुपर्छ । कूल ४००/२२० केभी क्षमताका ३ वटा सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन विद्यमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरू काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् ।
कूल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी छ । यसअघि सो आयोजनाका लागि विश्व बैङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैङ्कले आयोजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।
हेटाैडा र लालबन्दीमा ६ वर्षदेखि अवराेध
हेटौँडा उपमहानगरपालिका वडाहरू १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थाना भर्याङमा दुई र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ । थाना भर्याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् ।
स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका कारणले निर्माण प्रभावित भएको छ । कूल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो ।