काठमाडौँ । आर्थिक वर्ष (आव) २०८१/८२ मा ९४०.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरिएको छ । सरकारले आइतबार (जेठ १३ गते) सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार आगामी आवमा उक्त क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको हो ।
निर्माणाधीन तथा निमाणको अन्तिम चरणमा पुगेको ५३ विद्युत् आयोजनाको बिजुली प्रणालीमा थपिने अनुमान गरिएको छ । आव २०८०८१ को अन्त्यसम्म ८११ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
सर्वेक्षणका अनुसार हालसम्म कूल जडित क्षमता ३०६०.१ मेगावाट पुगेको छ । जसमा जलविद्युतबाट २८१८.९१, सौर्यबाट ९७.०४, तापिय ऊर्जा (थर्मल प्लान्ट)बाट ५३.४१ मेगावाट रहेको छ । यसैगरी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्धारा ८४.७४ मेगावाट, चिनी मिलबाट सह उत्पादन प्रविधिमार्फत ६ मेगावाट विद्युत् उत्पादन भएको छ ।
२०८० असारसम्म सामुदायिक उपभोक्ता समेत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख ७३ हजार ८ सय ७ पुगेको छ ।
प्रसारण लाइन र सबस्टेसन
राष्ट्रिय प्रसारण लाइन (६६ के.भी. र सो भन्दा माथिको लम्बाई) २०८० असारसम्म ५.७४२ सर्किट किलोमिटर रहेकोमा २०८० फागुनसम्म ६.२०७ सर्किट किलोमिटर पुगेको छ । २०८० फागुनसम्म वितरण लाइन (३३ के.भी. र सो भन्दा कम) २ लाख ३ हजार ८ सय ५५ सर्किट किलोमिटर पुगेको छ । २०८० असारसम्म बितरण लाइन (४००/२३० भोल्ट) १ लाख ४५ हजार २ सय ७० सर्किट किलोमिटर रहेको थियो ।
२०८० फागुनसम्म प्रसारणतर्फ ७ र वितरणतर्फ ४ गरी ११ सवस्टेसनको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । २०७९ फागुनसम्म प्रसारण र वितरण गरी ७ सवस्टेसन सञ्चालनमा रहेका थिए । त्यसैगरी, १३२ के.भी.का २ प्रसारण लाइन (५६ सर्किट किलोमिटर) तथा २२० के.भी.का ३ प्रसारणा लाइन (५३५ सर्किट किलोमिटर) विस्तार भएका छन् । ग्रिड सवस्टेसनको क्षमता ८.०६३.६ मेगाभोल्ट एम्पियरवाट ११.२९७ मेगाभोल्ट एम्पियर पुगेको छ ।
विद्युत् खपत
सरकारको पछिल्लो आँकडा अनुसार चालु आवको फागुनसम्म विद्युत खपत ८.०१७ गिगावाट घण्टा बराबर पुगेको छ । गत आवको पूर्ण अवधिमा यस्तो खपत १०.६९५ गिगावाट घण्टा वरावर रहेको थियो । चालु आवको फागुनसम्म गार्हस्थ, औद्योगिक, व्यापारिक र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३४.६ प्रतिशत. २९.९ प्रतिशत ६.६ प्रतिशत र १०.५ प्रतिशत रहेको छ ।
विद्युत् आयात/निर्यात
विद्युत उत्पादनमा वृद्धि हुँदै गएसँगै ऊर्जा उपलब्धता सहज हुँदै गएको छ । पछिल्लो अवधिमा विद्युत आयातमाथिको निर्भरता कम भएको छ भने खुद विद्युत निर्यात बढ्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म भारततर्फ १.४७५ गिगावाट घण्टा बरावरको विद्युत निर्यात भएको छ भने ९२८ गिगावाट घण्टा विद्युत आयात भएको छ । गत आर्थिक वर्षमा भारतवाट १.८५४ गिगावाट घण्टा विद्युत आयात र १.३३२ गिगावाट घण्टा विद्युत निर्यात भएको थियो ।