काठमाडौँ । संखुवासभामा निमार्णाधीन ९०० मेगावाटको अरुण-३ जलविद्युत् आयोजनाको मूख्य सुरूङको ‘ब्रेक थ्रु’ भएको छ । एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको ११.७८ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको हो । नेपालमा निर्माणाधीनमध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।
मंगलबार जिल्लाको मकालु गाउँपालिका–५ आम्राङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सुरूङको ‘ब्रेक थ्रु’ गरेका हुन् । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युतगृहसम्म पानी पुर्याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ ।
सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न अरुण तेस्रो जलविद्युत् आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्री दाहालले बताए । उनले निर्माणाधीन अायाेजना र लाइनकाे काम समयमा सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।
आयोजनाको करिब ७५ प्रतिशत र प्रसारण तर्फको करिब ३० प्रतिशत निर्माण पूरा भएको सतजलका प्रमुख प्रवन्ध निर्देशक सुशिलकुमार शर्माले बताए । उनले २५ प्रतिशत काम सन् २०२५ भित्र सम्पन्न हुने गरी काम भइरहेको जानकारी दिए । ‘सन् २०२४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोसी राजमार्गको दुरावस्था, सरकारले समयमा सहजिकरण नगर्दा र स्थानीय समस्यालगायतले ढिलाइ भएको हो’ उनले भने ।
आयोजनाको कुल लागतमध्ये हालसम्म ६४ अर्ब रुपैयाँ खर्च भइसकेको जनाइएको छ । आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युतगृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको छ । विद्युतगृहमा २२५ मेगावाट क्षमताका ४ वटा टवाईन जडान गरिनेछ ।
आयोजनाबाट उत्पादित विद्युतको पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) ३.४० घण्टा प्रतिदिन रहेको छ । आयोजना निर्माणपूर्व अधिग्रहण भएको जग्गा सार्वजनिक जग्गा १२५ हेक्टर र निजी जग्गा ५० हेक्टर रहेको छ
नेपाल सरकार र एसजेभिएनबीच पिडिए
नेपाल सरकार र एसजेभिएनबीच योजना विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सन् २००८ मा भएको थियो । परियोजना विकासका लागि सरकार र एसजेभिएनबीच परियोजना विकास सम्झौता (पीडीए) भने सन् २०१४ मा भएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला विसं २०७५ बेशाख २८ गते तत्कालिन प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँ बाटै यस आयोजनाको शिलान्यास गरेका थिए । ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना निर्माण गर्ने ठेक्का भारतीय पब्लिक कम्पनी सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभिएन) ले पाएको छ । सतलजले विसं २०६६ मा ग्लोबल बिडिङमार्फत सर्वेक्षण अनुमतिपत्र पाएको थियो । ठेकेदार कम्पनीले अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडिसी) स्थापना गरेको छ ।
सम्झौता अनुसार उत्पादित बिजुलीको २१.९ प्रतिशत अर्थात १९७ मेगावाट नेपालले निःशुल्क पाउनेछ । बाँकी बिजुली भारत निर्यात हुनेछ । यसैगरी, विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । त्यसबेलासम्म निःशुल्क बिजुली, रोयल्टी र अन्य करवापत नेपाललाई वार्षिक १३ अर्ब ९२ करोड रुपैयाँ लाभ हुने गरी सम्झौता भएको छ ।