काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान भएको छ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको लट–२ तर्फ सिभिल तथा हाइड्रो मेकानिकल कार्यका लागि ठेक्का आह्वान गरेको हो ।
कम्पनीले विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ अर्थात २०८१ साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आयोजनाको विवरण
आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।
अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।
आयोजनाको लगानी
कम्पनीले आयोजना निर्माणका लागि गत जेठ २ गते मात्रै वित्तिय व्यवस्थापन गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
सम्झौताअनुसार आयोजनामा आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।
नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।
पिपिए
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पिपिए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।
उत्पादन अनुमति
कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।