Saturday, September 21, 2024
spot_img

निर्माणमा जान लागेको निजी क्षेत्रकै सबैभन्दा ठूलो माथिल्लो तमोरको वित्तीय व्यवस्थापन सम्पन्न

spot_img

Share

spot_img

काठमाडौँ । निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाकाे वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा कर्जा लगानी गर्ने गरी बिहीबार (जेठ २४ गते) लगानी सम्झौता भएको हो ।

ऋण सम्झौतामा प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना र अगुवाईकर्ता बैंक (एभरेष्ट बैंक)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरे । आयोजना निर्माण सम्पन्न गर्न ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीयल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक तथा गरिमा विकाश बैंकले ऋण लगानी गरेका छन् । कूल लागतमध्ये ३० प्रतिशत अर्थात १६ अर्ब ५५ करोड स्वःपूँजी तथा ३८ अर्ब ६० करोड रुपैयाँ अर्थात ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने छन् ।

सम्झौता कार्यक्रममा कम्पनीका अध्यक्ष ढुंगानाले देशमा उत्पन्न भएको निराशा चिर्न स्वदेशी पूँजी, स्वदेशी इन्जिनियरको डिजाइनमा ठूला आयोजना निर्माण गर्न सकिने सन्देश दिन लागेको बताए । उनले आयोजनामा ४४ मेगावाटको सुपर मादीले समेत ३ अर्ब १५ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने जानकारी दिए ।

उनले यो आयोजना ताप्लेजुङमा निर्माण हुन लागेको सबैभन्दा ठूलो र निजी क्षेत्रले हालसम्म निर्माण गर्न लागेको सबै भन्दा ठूलो रहेकोले ताप्लेजुङबासीको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

आयोजनाको निर्माण कार्य आगामी २०८५ जेठमा सम्पन्न हुनेछ । आयोजना सञ्चालनबाट पहिलो वर्षमा करिब १० अर्व १२ करोड रुपैयाँ आम्दानी हुनेछ र वार्षिक रुपमा वृद्धि हुँदै ९ अाै वर्षमा करिब १२ अर्व ५५ करोड रुपैयाँ पुग्नेछ ।

नेपालमा नेपाली पूँजी क्षमताले आयोजना निर्माण गर्न सकिने माथिल्लो तमोर आयोजनाले आशा देखाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल( इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । सरकारले बजेटमा जलविद्युत् विकासका लागि कुनै योजना नल्याएको बताउँदै उनले लामो समयदेखि भन्सारमा रोकिएको जलविद्युत् आयोजनाको समान पास नभएको गुनासो गरे ।

आयोजनाको संरचना

कोसी प्रदेश ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त आयोजना हो । ६ घण्टाको पिकिङ क्षमतामा निर्माण हुने यस आयोजनामा बाँध माथि रहने रिजर्भवायरमा २ घण्टा र हेड पोण्डमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत् निकाल्न पुग्ने पानी भण्डारण गरिनेछ ।

यस आयोजनाको डिजाइन डिस्चार्ज करिब ७८ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४५० मिटर रहने छ । आयोजनामा करिब ९१ मिटर लामो २२ मिटर अग्लो बाँध रहने छ, जसमा २ वटा अन्डर स्लुइस र ४ वटा व्यारेज रहने छन् । ७८ घनमिटर प्रतिसेकेण्डको पानीलाई ६ वटा इन्टेक गेट मार्फत ग्राभेल ट्र्यापमा पठाइनेछ ।

पानीलाइ सुरुङ र पाइपलान हुँदै भूमिगत विद्युतगृहमा झारिनेछ । विद्युतगृहमा ५७ मेगावाट क्षमताको ५ वटा टर्वाइन जडान हुनेछ । टनेल तथा ६८३ मिटर लामो पेनस्टक साफ्टको बीचमा १४ मिटर व्यास तथा ९३ मिटर अग्लो सर्ज साफ्ट रहनेछ । यस आयोजनाबाट वार्षिक रुपमा १६५५ गिगावाट आवर अर्थात् एक अर्ब ६५ करोड ४० लाख युनिट बिजुली उत्पादन हुनेछ । जसमध्ये ४४६ गिगावाट आवर सुख्खायाममा उत्पादन हुनेछ ।

उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट प्रसारण लाइनमार्फत करिब १५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img