काठमाडौँ । विद्युत् प्रवाह हुने प्रसारण लाइनको समस्याले यो वर्ष पनि करिब १००० मेगावाट विद्युत् खेर जाने अवस्था रहेको छ । बर्खा सुरु हुन लागेसँगै निजी ऊर्जा प्रवर्द्धकहरू चिन्तित देखिन थालेका छन् । बर्षेनी बर्खायाममा अर्बौ रुपैयाँको क्षति बेहोर्नु परेको निजी क्षेत्रमाथि यो वर्षपनि त्यही समस्या दोहोरिने देखिएको छ ।
नेपालको अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । नदी प्रवाही आयोजनाको उत्पादन बर्खामा पूर्ण रूपमा हुन्छ । आयोजनाको उत्पादन हिउँदमा करिब ३० प्रतिशतमा सिमित हुन्छ । अझ हिउँदमा जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रमले गर्दा नदी प्रवाही आयोजनाले १० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्दै आइरहेको नेपाल विद्युत् प्राधिकरणले बताउँदै आएको छ ।
काबेली कोरिडोरको विद्युत् जडित क्षमता २०० मेगावाट बढी थियो जसमा हिउँदमा मुस्किलले २० मेगावाट मात्रै उत्पादन भएको प्राधिकरणको तथ्यांक छ ।
नदी प्रवाही आयोजनाको आम्दानी हुने भनेकै बर्खायाममा हो । बर्खायाममै प्राधिकरणले विविध कारण देखाउँदै तथा प्रसारण लाइनको समस्याले विद्युत् नकिनिदिँदा बैंकको सावा व्याज तिर्न नसक्ने अवस्था सिर्जना हुने देखिएपछि निजी ऊर्जा प्रवर्द्धकको चिन्ता बढेकाे छ ।
अहिले नेपालको विद्यत् जडित क्षमता करिब ३२०० मेगावाट पुगेको छ । ३०० मेगावाट थपिने चरणमा भएकोले यो बर्खामा मात्र नेपालको विद्युत जडित क्षमता करिब ३५०० मेगावाट पुग्नेछ ।
यो वर्ष विद्युत् उत्पादन क्षमता बढेकोले झन बढी विद्युत् खेर जाने देखिएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए । प्राधिकरण भार प्रेषण केन्द्रले लोड नभएको भन्दै विद्युतगृह बन्द गर्न सूचना पठाउने गर्छ । कुनै विद्युतगृह आंशिक रूपमा सञ्चालन हुन्छन भने कुनै पूर्ण रूपमै बन्द गर्नुपर्ने हुन्छ । यसरी विद्युतगृह बन्द हुँदा विद्युत् प्रवर्द्धकलाई ठूलो नोक्सानी हुने कार्कीले बताए ।
नेपालको अहिलेको विद्युत् खपत करिब १६ देखि १७०० मेगावाटको हाराहारीमा छ । भारतमा करिब ८०० मेगावाट विद्युत् निर्यात गर्ने सकिने सम्भावना छ । यही भदौदेखि बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ । यसका लागि यही असार दोस्रो साताभित्र त्रिपक्षीय सम्झौता समेत हुने भएको छ । यसरी हेर्दा यो बर्खामा मात्रै १००० मेगावाट बढी विद्युत् खेर जाने अवस्था देखिएको इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले बताए । गत वर्ष पनि प्राधिकरणले करिब ५०० मेगावाट विद्युत् नकिनिदिँदा अर्बौ रुपैयाँको क्षति बेहोरेको थियो ।
केही वर्षअघि विद्युत् अभावका कारण लोडसेडिङको मार खेपेको नेपालले लोडसेडिङको तालिका सार्वजनिक गरि विद्युत् आपूर्ति गर्थ्याे । अहिले विद्युत् उत्पादन बढ्दै गएको छ । तर उत्पादन सँगै खपतका योजना नहुँदा अब विद्युतगृह बन्द गर्ने तालिका सार्वजनिक गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।
पछिल्लो समय प्रसारण लाइन निर्माण तथा सुदृढिकरणका काममा ढिलासुस्ती छ । निर्माणाधीन अधिकांश लाइनमा स्थानीयले अवरोध गर्दा खेरी पनि समयमा लाइन सम्पन्न हुँदैन जसले गर्दा पनि निजी क्षेत्रको विद्युत् खेर जाने अवस्था सिर्जना भएको हो । सरकारले विद्युत् उत्पादन सँगै लाइन निर्माणमा तिव्रता र खपतको योजनालाई पनि प्राथमिकतामा राखेर अघि बढ्नु जरुरी छ ।