काठमाडौँ । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३‘बी’ जलविद्युत आयोजनाको पहिलो लट अन्तर्गत सिभिल निर्माणको जिम्मा फेवा कन्स्ट्रक्सन प्रालिले पाएको छ । आयोजनाको सिभिल तर्फको बाँकी कामको निर्माण ठेक्का फेवाले पाएको हो ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरीररहेको आयोजनाको सिभिलतर्फको चिनियाँ ठेकेदार कम्पनी सुइफा एएनएचई ग्रुपले गरेको थियो । निर्माणमा भएको ढिलाई, लापरबाही र तोकिएको तालिकाभित्र आयोजना सम्पन्न हुने कुनै आधार नदेखिएको भन्दै प्रवर्द्धक कम्पनीले ठेकेदारसँग ठेक्का तोडेको थियो ।
फेवाले बाँकी सिभिल निर्माणका लागि १ अर्ब ८४ करोड ३६ लाख ९७ हजार रुपैयाँ प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ । यसअघि फेवाका साथै वाइवा इन्फ्राटेक प्रालि, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, साइआरएस ज्वाइन्टभेन्चर, सिइ कन्स्ट्रक्सन प्रालि, तुँदी कन्स्ट्रक्सन प्रालि सर्टलिस्टमा छनौट भएका थिए ।
कम्पनीले सिभिल, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकलको कामलाई दुई लटमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो । जसमा सिभिलको काम नेपाली निर्माण व्यवसायीबाट र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण आपूर्तिको जिम्मा विदेशी कम्पनीले पाउने भएको छ ।
कम्पनीले चिनियाँ ठेकेदारसँग फेब्रअरी २०१८ मा ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरिएको थियो । कोभिड–१९ का कारण एकवर्ष म्याद थप भयो । फेरि हेडरेस लगायतका कारण २ वर्ष म्याद थप भएको थियो । मार्च २०२३ मा थप गरिएको नयाँ तालिका अनुसार आयोजनाको काम मार्च २०२४ भित्र सम्पन्न गर्नुपर्ने थियो तर, ठेकेदारले काम नै नगर्ने, काम रोकेर बस्ने, बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेपछि कम्पनीले ठेक्का तोडेको थियो ।
ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलतर्फको सम्पूर्ण संरचना र उपकरण डिजाइन, जडान तथा सञ्चालन गर्नुपर्ने थियो ।
आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधि लम्बिदाँ, नयाँ ठेक्का आह्वान तथा सम्झौता गर्दा लागत बढ्न सक्ने जनाइएको छ । आयोजनामा ३० प्रतिशत स्वपूँजी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।
आयोजनाको काम २०८२ चैतभित्र सम्पन्न गर्ने योजना छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् ३ किलोमिटर दूरीमा रहेको त्रिशुली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।