काठमाडौँ । ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुने भएको छ । परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए (इटाली) ले टीबीएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न सकिने सिफारिस गरेपछि आयोजनाले यस्तो निर्णय गरेको हो ।
९ महिनादेखिको अथक मेहेनत, अर्न्तरक्रिया, सुनकोसी मरिण डाइभर्सन आयोजनाको स्थलगत भ्रमण, विस्तृत अध्ययन, विज्ञहरूसँगको छलफल पश्चात परामर्शदाता कम्पनीको सिफारीसमा सुरुङ खन्न टीबीएम प्रविधिको प्रयोग गर्ने निर्णय भएको दूधकाेसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिमल गुरुङले बताए ।
‘एक वर्षअघिसम्म दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ खन्ने कार्यमा ‘टीबीएम’ को ‘टी’ पनि उच्चारण नगरिरहेको वातावरण थियो । ९ महिनादेखिको अथक प्रयास, छलफलपछि १३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण अब ‘टिबीएम’ प्रविधिबाट गर्ने निर्णय भएको छ’ उनले जानकारी दिए ।
विगत ९ महिनाको अवधिमा परामर्शदातालाई विभिन्न विकल्पहरू र सुझावहरू दिँदै ६ वटा पत्रहरू पठाइएका थियाे । परामर्शदाताले विज्ञहरूसँग श्रृङ्खलाबद्ध बैठक तथा छलफल गरी सुरुङ खन्न ‘टीबीएम’ प्रयोग गर्ने स्थितिसम्म आइपुगेको गुरुङले जानकारी दिए ।
नेपालमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत भेरी–बबई र सुनकोसी–मरिण डाइभर्सन आयोजनाहरूको मुख्य सुरुङहरूको निर्माण कार्य ‘टीबीएम’ प्रविधिबाट सफलतापूर्वक सम्पन्न भइसकेको हुनाले पनि आत्मविश्वास जागेको गुरुङले बताए । अब जलविद्युतमा चाहिँ ‘टीबीएम’ प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना दूधकाेसी हुने भएको छ ।
लागतको तुलना गर्दा अन्य आयोजनाहरूमा ‘टीबीएम’ प्रविधि करिब दोब्बर नै पर्ने देखिएको भए पनि दुधकोशीमा चाहिँ अडिट सुरुङहरूलगायत कार्यहरू र वातावरणीय असर घट्ने भएकोले हालको दरविश्लेषण र अन्य लागतहरू हेर्दा दुवै प्रविधिहरूमा खर्च करिब समान हुने देखिएको छ ।
पराम्परागत ब्लास्टिङ प्रविधिको सट्टा ‘टीबीएम’ बाट मुख्य सुरुङको निर्माण गर्दा प्रत्यक्ष रूपमा निम्न फाइदाहरू देखिएका छन्ः
–४ किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने (जसबाट करिब ३ लाख २२ हजार घनमिटर चट्टान/माटो खन्ने काम घट्ने),
– ८ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने,
– करिब २ लाख २६ हजार घनमिटर कंक्रिट कम हुने,
– मुख्य र अडिट सुरुङहरू खन्न करिब ३ हजार ६०० टन विष्फोटक पदार्थ नचाहिने,
– पुरानो विधिमा ३ किलोमिटरसम्म लामा अडिट सुरुङहरूको स्लोप भित्रतिर अर्थात् नेगेटिभ स्लोप भएको कारणले निर्माणताका पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा उकालो हिँड्नुपर्दा ठुलो धनराशी/खर्च हुने भएकोमा अब ‘टीबीएम’ प्रविधिमा त्यो खर्च बचत हुने,
– मानवीय हताहत (क्षती) करिब शून्य जस्तै हुने,
– भौगर्भिक जोखिम र अनिश्चितताहरू सारभूतरूपमा घट्ने,
– सुरुङको चट्टान/माटो खन्ने काम ठूलो मात्रामा घटेको तथा ८ किलोमिटर सडक बनाउनु नपर्ने कारणले गर्दा वातावरणीय प्रभाव घट्ने भएको आदि ।
आयाेजनाकाे विवरण
याे आयाेजना खाेटाङ, ओखलढुंगा र साेलुखुम्बुकाे सिमानाबाट बग्ने दूधकाेसी नदीमा निर्माण हुनेछ । आयाेजना निर्माण सम्पन्न गर्न ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) लागत अनुमान गरिएकाे छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋण र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ ।
यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडिबीको नेतृत्वमा सन् २०२४ भित्र वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ । आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८ घरधुरी पूर्ण २९०१ घरधुरी आंशिकरूपमा प्रभावित हुनेछन् ।
आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ । करिब ७ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ ।