काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार ३३२ स्थानीय तहको ६ अर्ब रुपैयाँ बढी सडक बत्ति वापतको बक्यौता बाँकी छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म उक्त स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ बक्यौता तिरेका छैनन् ।
अहिले यो बक्यौता बढेको प्राधिकरणले जनाएकाे छ । साथै, यसमा २५ प्रतिशत जरीवाना समेत लाग्नेछ । प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी बक्यौता काठमाडौँ महानगरपालिकाको रहेको छ । महानगरको बालाजु, बानेश्वर, रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज वितरण केन्द्रमा १ अर्ब ६१ करोढ ७९ लाख बक्यौता छ ।
ललितपुर, पोखरा, भरतपुर, विराटनगर, विरगञ्ज महानगर तथा अन्य पालिका र नगरपालिकाको पनि ठूलो परिमाणमा बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बारम्बार ताकेता गर्दा, लाइन काट्ने चेतावनी दिँदासमेत स्थानीय तहले बक्यौता बुझाउन अटेर गर्दै आएका छन् ।
प्राधिकरणले आइतबार अर्थात असार १६ गते मात्र सूचना प्रकाशन गरी बक्यौता बुझाउन ताकेता गरेको थियो । प्राधिकरणले ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने जानकारी दिँदै सार्वजनिक सूचना जारी गरेको थियो । प्राधिकरणले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीको लागि आवेदन दिन अनुरोध गरेको थियो ।
अर्कोतर्फ स्थानीय तहले भने सडक बत्ति प्रयोग गरेवातको महसुल बुझाउन अटेर गर्दै आएका छन् । उनीहरू सडक बत्तिवापतको महसुल बुझाउने हो भने प्राधिकरणले बिजुली पोल राखेवापतको भाडा दिनुपर्ने बताउँदै आएका छन् ।