काठमाडौँ । ऊर्जा तथा जलविद्युत् पूवार्धार निर्माणमा काम गर्ने सुइफा इएनएनई ग्रुप कम्पनी लिमिटेड कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगरेको र ठेक्का लिएर आयोजना अलपत्र पारको भन्दै कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम २०८१ असार २३ गतेदेखि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । ठेकेदार कम्पनीले गुणस्तर काम नगरेकाे भन्दै कालाेसूचीमा राख्न प्रवर्द्धक कम्पनीले सिफारीस गरेकाे थियाे । साेहीबमाेजिम अध्ययन अनुगमन गरेर कालाेसूचीमा राखिएकाे हाे ।
कालोसूचीमा परेको यो कम्पनीले कालोसूची अवधिभर सरकारी टेण्डरमा सहभागि हुन पाउने छैन, साथै अन्य कालोसूचीमा नपरेको निर्माण कम्पनीसँग मिलेर पनि ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन ।
यो कम्पनीले नुवाकोटमा ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको थियो । निर्माणमा ढिलाई तथा लापरबाही र तोकिएको तालिकाभित्र आयोजना सम्पन्न हुने कुनै आधार नदेखिएपछि प्रवर्द्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का तोडेको थियो ।
प्रवद्र्धक कम्पनीले २०२३ डिसेम्बर १ तारिखमा सूचना पठाएर डिसेम्बर १६ तारिखदेखि पूर्ण रुपमा ठेक्का रद्ध गरेको थियो । ठेकेदार कम्पनीसँग फेब्रुअरी २०१८ मा ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको थियो ।
कोभिड १९ का कराण एकवर्ष म्याद थप भयो । फेरि हेडरेसलगायत कारण २ वर्ष म्याद थप भएको थियो । आयोजनाको काम मार्च २०२४ भित्र सम्पन्न गर्नुपर्ने थियो तर, ठेकेदारले काम नै नगर्ने, काम रोकेर बस्ने, बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेपछि कम्पनीले ठेक्का रद्ध गरेको थियो ।
अहिले याे अायाेजनाकाे बाँकी काम पूरा गर्ने ठेक्का फेवा कन्स्ट्रक्सन प्रालिले पाएको छ । फेवाले बाँकी सिभिल निर्माणका लागि १ अर्ब ८४ करोड ३६ लाख ९७ हजार रुपैयाँ प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।
याे पनि पढ्नुहाेस्ः माथिल्लो त्रिशूली ३‘बी’ को सिभिलतर्फको निर्माण ठेक्का फेवा कन्स्ट्रक्सनलाई