काठमाडौँ । नेपालमा करिब ३ हजार मेगावाट बराबरकाे वायु ऊर्जा उत्पादन गर्न सकिने सम्भाव्यता रहेकाे विभिन्न अध्ययनहरूले देखाएका छन्छ । देशको उत्तर खण्डमा वायु ऊर्जाको सम्भावना बढी रहेकाे छ । ती स्थानमा औसतमा १०० मिटरको उचाईमा हावाको गति ७४ मिटर प्रतिसेकेन्ड र ऊर्जाको घनत्व ५२१ वाट प्रतिवर्ग मिटर रहने हुँदा त्यस क्षेत्रमा वायु ऊर्जाकाे सम्भाव्यता बढी देखिएकाे हाे ।
सम्भाव्यता अनुसार ठूला वायु ऊर्जा परियोजनाहरू हिमाली भेगमा जडान गर्न सकिनेछ । प्राविधिक रूपले सबल ती स्थानहरूमा वायु ऊर्जा निर्माण र सञ्चालन गर्न कठिन हुने तथा त्यहाँबाट उत्पादन हुने विद्युतलाई प्रसारण गर्न पनि असहज हुने भएका कारण नेपालमा वायु ऊर्जाको विकास गर्न कठिन रहेको जर्मन अन्तराष्ट्रिय विकास संस्था (जीआईजेड) को सहयोगमा गरिएको अध्ययनमा छ ।
देशको उत्तरी भूभागमा सडकको पूर्वाधार नभएको कारण वायु ऊर्जाका लागि प्रयोग हुने ठूला टर्वाइन ब्लेडहरू निर्माण स्थानसम्म पुर्याउन सहज छैन । नेपालको परिपेक्षमा सोलार पीभी र जलविद्युतको तुलनामा वायु ऊर्जाको विकासको सम्भावना कम देखिन्छ । त्यसमाथि, सम्भाव्यता भएका स्थानहरू पनि अति दुर्गम हिमाली भागमा पर्दछ । तसर्थ, वायु ऊर्जाकाे नेपालको ऊर्जा मिश्रणमा शुन्य याेगदान छ ।
नेपालमा वायु ऊर्जाको पृष्ठभूमी
नेपालमा विकासका हिसाबले वायु ऊर्जाले तीन दशकभन्दा लामो इतिहास बनाइसकेको छ । तर यस अवधिमा जुन हिसाबले विकास हुनुपर्ने हो त्यो भएको देखिदैन । यसअघि सरकारले निरन्तर प्रयास गर्दै वायु ऊर्जा उत्पादन गर्ने योजना बनाएपनि अहिले त्यो देखिदैन ।
नेपालमा हालसम्म केही पाइलट परियोजना बाहेक वायु ऊर्जाको क्षेत्रमा कुनै अनुसन्धान र विकास भएको छैन । सन् १९८९ मा नेपालमा पहिलोपटक १० किलोवाटको वायुऊर्जा परियोजना जडान गरिएकोमा ३ महिना नबित्दै हुरीले उडाएको र त्यसपछि बन्द भएको थियो ।
पछिल्लो समय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विकट तथा राष्ट्रिय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेको क्षेत्रमा सोलार र वायुको हाइब्रिड आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।
वायु ऊर्जाको जडान लागत
विगत ११ वर्षयता संसारभर नै वायु ऊर्जाको जडानको लागत र विद्युत् उत्पादन मूल्य (एलसीओड) दुवै घट्दै गएको अध्ययनहरूले देखाएका छन् । जडान लागत मूल्य प्रति किलोवाट २,१७९ अमेरिकी डलरबाट घटेर १,२७४ अमेरिकी डलर पुगेको छ भने एलसीओई प्रतिकिलोवाट आवरमा ०.१०७ अमेरिकी डलरबाट ०.०३३० मा पुगेको छ ।
१४ मेगावाटका आयोजना निर्माणका चरणमा
१ मेगावाटको वायु ऊर्जाले अध्ययन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको द्ध । अमरज्योती वायु ऊर्जा युजरस् कमिटी, तातोपानीले जुम्लामा वायु ऊर्जाको निर्माण प्रक्रिया अघि बढाउन उत्पादन अनुमतिका लागि २०७५ असोज १९ गते नै आवेदन दिएको थियो । अहिले करिब ६ वर्ष बितिसक्दा पनि अनुमति पाएको छैन ।
यसैगरी, १३ मेगावाटका दुई आयोजनाले सर्वेक्षण अनुमति पाएर अध्ययन गरिरहेका छन् । फिउचर विण्ड पावर प्रालिले मुस्ताङको जोमसोममा ३ मेगावाटको वायु ऊर्जा विकास गर्न २०७६ भदौ मै अध्ययन अनुमति पाएको थियो ।
बाँके विण्ड इनर्जी प्रालिले बाँके मै १० मेगावाटको वायु ऊर्जा निर्माण प्रक्रिया अघि बढाउन २०८१ बैशाख २६ गते अध्ययन अनुमति पाएको थियो । यो कम्पनीले आगामी २०८२ बैशाख २५ गतेभित्र अध्ययन पूरा गरिसक्नुपर्ने छ ।