Thursday, December 5, 2024
spot_img

नौमुरे बहुउद्देश्यीय आयोजनाः लगानी जुटाउन नसक्दा निर्माण अनिश्चित

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण अघि बढाउने तयारी गरेको छ । जलाशयमा आधारित जलविद्युत्, सिँचाइ तथा बाढी नियन्त्रण जस्ता जलश्रोतको बहुउपयोग हुने एक वृहत बहुउद्देश्यीय आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी भएपनि लगानी जुटाउन नसक्दा काम सुरु हुन सकेकाे छैन ।

विशेषगरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार र बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले यो आयोजनाको निर्माण गर्न लागेको हो ।

यो आयोजना लुम्बिनी प्रदेशको अर्घाखाँची, प्युठान तथा कपिलबस्तु जिल्लामा अवस्थित रहेको छ । पश्चिम राप्ती नदीमा प्रस्तावित यस आयोजनाको लागि माडी र झिम्रुक नदीको दोभान भन्दा करिब २ किलोमिटर तल राप्ती नदीमा १६९ मिटर आग्लो बाँध बनाई जलाशयमा पानी संचय गरिनेछ ।

नौमुरे बहुउद्देश्यीय आयोजनाबाट कूल २८१ मेगावाट जलविद्युत उत्पादन हुनुका साथै यस आयोजनाबाट दाङ, कपिलबस्तु र बाँके जिल्लाको ८३ हजार ८०२ हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइको लागि पानी उपलब्ध हुन्छ । नौमुरे आयोजनाको निर्माणले पश्चिम राप्ती नदीको तल्लो तटीय भागमा बाढीको जोखिम कम गर्नेछ । २०७४ सालदेखि सम्भाव्यता अध्ययन सुरु भई २०७८ मा सम्पन्न भएको हो ।

यस बहुउद्देश्यीय आयोजना अन्तर्गत ३ वटा जलविद्युत् आयोजनाहरु प्रस्ताव गरिएको छ । जसमा २१८.३ मेगावाटको नौमुरे, ५४.७ मेगावाटको सुराइना र ८ मेगावाटको लामाताल जलविद्युत् आयोजना प्रस्ताव गरिएको छ ।

अहिले आयोजनाको निर्माण पूर्वको काम भइरहेको छ । मुलुकको आर्थिक संकटसँगै बजेटको कमीको कारणले आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित हुन नसक्दा निर्माणमा जान नकसकेको विद्युत् विकास विभागले जानकारी दिएको छ । लगानी सुनिश्चित नहुँदा विकास पूर्व तयारीका पूर्वाधारको कार्यहरू समेत हुन सकेको छैन । यस आयोजना सम्पन्न गर्न १८ अर्ब १४ करोड १५ लाख रुपैयाँ लागत लाग्नेछ ।

जलविद्युत् आयोजना

यो आयोजना प्यूठान र अर्घाखाँची जिल्लाको सिमानामामा निर्माण हुनेछ । भूमिगत विद्युतगृह रहेन यस आयोजनामा ३ वटा टर्वाइन घुमाएर २१८.३४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यो आयोजना पूरा भएपछि वार्षिक ८७४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यो आयोजना निर्माणका लागि ९१ अर्ब ९२ करोड २९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

मुख्य बाँधस्थलबाट करीब ६ किलोमिटर तल्लो तटमा अर्घाखाँची जिल्लाको लामाताल र प्यूठान जिल्लाको झिलिबांग सिमानामा कालीखोला नजिकै १५.५ मिटर अग्लो लामाताल रि–रेगुलेटिंग व्यारेज निर्माण गरी विद्युत उत्पादन गरिने लामाताल जलविद्युत आयोजना पनि यसै बहुउद्देश्यीय आयोजना अन्तर्गत पर्दछ ।

यस आयोजनाबाट कपिलवस्तु सिँचाइ आयोजना तथा राप्ती नदीमा आश्रित भएका विभिन्न सिँचाइ आयोजनाहरूलाई चौबिसै घण्टा नियमित रुपमा पानी प्रवाह गरिनेछ । यस आयोजनाबाट यस जलविद्युत आयोजना अन्तर्गत लामातालमा रहने अर्ध–भूमिगत विद्युतगृहका तीन वटा टर्वाइनहरूद्वारा ८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । यस आयोजना पूरा भएपछि वार्षिक ४०.९५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण सम्पन्न गर्न ५ अर्ब ६५ करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

लामाताल जलविद्युत आयोजनाको विद्युत गृहबाट निस्कने ४१.६ घनमिटर प्रतिसेकेन्ड पानी करीब १८ किलोमिटर सुरुङ्ग मार्फत स्थानान्तरण गरी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ मा रहने सुराईनाकाको विद्युत गृहबाट ५४.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

करिब ८४ हजार हेक्टरमा सिँचाइ

यस बहुउद्देश्यीय आयोजना अन्तर्गत सिँचाइ आयोजनाहरूतर्फ बाँके तथा दाङको देउखुरीमा रहेका ३ वटा सिँचाइ आयोजनाहरू तथा कपिलवस्तुमा प्रस्ताव गरिएका नयाँ सिँचाइ आयोजनाहरू रहेका छन् । बाँके जिल्लामा रहेको सिक्टा सिँचाइ आयोजना तथा दाङ, देउखुरीमा रहेका प्रगन्ना १,२,३ तथा बडकापथ सिँचाइ आयोजनाहरू रहेका छन् । सिक्टा सिँचाइ, दाङ देउखुरी सिवाइ आयोजना निमित्त क्रमशः ४२ हजार ७६६ हेक्टर, १० हजार ८०० हेक्टर सिँचाइ क्षेत्रहरू रहेका छन् ।

कपिलवस्तु जिल्लामा प्रस्ताव गरिएको नयाँ सिँचाइ आयोजनाबाट करीब २९ हजार ७३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । यस आयोजना मार्फत पश्चिम भू–भाग तथा पूर्वी भू–भागको कपिलवस्तु जिल्लामा रहने मुख्य मुख्य नहरहरू प्रस्ताव गरिएको छ । कपिलवस्तु जिल्लाको पश्चिम तर्फको भू–भागमा सिँचाइ गर्नका निमित्त प्रस्ताव गरिएको नहर करीब ४२ किलोमिटर लामो तथा पूर्वी भेगमा प्रस्ताव गरिएको नहरको लम्बाई करीब २४ किलोमिटरको हुनेछ । जसले पश्चिम तर्फ ९ हजार ४९३ हेक्टर जमिन तथा पूर्वी भेग तर्फ २० हजार २४३ हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।

यस आयोजना निर्माण कार्यका लागि कूल २ हजार ५३५ हेक्टर जमिन आवश्यक पर्दछ । प्रस्तावित नौमुरे बहुउद्देश्यीय आयोजनामा विभिन्न संरचनागत पूर्वाधारहरू जस्तैः नौमुरे मुख्य बाँध, स्पिलवे, ईन्टेक, विद्युतगृहहरू, पहुँच सडक, पेनस्टक पाईपहरू, रि–रेगुलेटीङ ब्यारेज, डिस्यान्डर, सुरुङ लगायत अन्य संरचनाहरू रहनेछन् ।

यसरी उत्पादित हुने जलविद्युतलाई २२० केभीे डबल सर्किट प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रीडमा जोडिनेछ । यस आयोजनाको निर्माण कार्य सम्पन्न हुन करीब ६ वर्ष लाग्ने अनुमान गरिएको छ । प्रारम्भिक कार्यहरू जस्तैः आयोजना सम्बन्धी टेण्डर प्रक्रिया, जग्गा प्राप्ति, शिविर निर्माण तथा आवश्यक प्राथमिक पूर्वाधारहरू निर्माणको कार्य सुरुवाती वर्षहरूमा हुनेछ । यस नौमुरे बहुउद्देश्यीय आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब २५ करोड ७५ लाख २० हजार रुपैयाँ अनुमान गरिएको छ ।

हालसम्मको प्रगति

आयोजनाको सम्भाव्य तथा वातावरणीय प्रभाव मुल्यांकन अध्ययन सम्पन्न भएको छ । नौमुरे जलविद्युत आयोजनाको मुख्य जलाशय र लामाताल जलाशयको परिधि छुट्याउने सम्बन्धी कार्य सम्पन्न भइसकेको छ । साथै यसका लागि जग्गा अधिग्रहणको लागत तयारीको कार्य सम्पन्न भएको छ । लामताल जलाशय क्षेत्र, इन्जिनियरीङ क्याम्प तथा जलविद्युत् आयोजनाको संरचनाका लागि आवश्यक पर्ने १३०० रोपनी जग्गा प्राप्ति गर्ने निर्णय भएअनुसार कार्यालय÷क्याम्प रहने जग्गाको मुआब्जा निर्धारण भई वितरण भइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img