काठमाडौँ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् प्रवाह हुने साढे ५ हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत आपूर्ति तथा वितरण हुने गरी ३३ केभीदेखि ४०० केभी क्षमतासम्मका प्रसारण लाइन आयोजनाले अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाएका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मातहतको विद्युत् विकास विभागले साढे ५ हजार सर्किट किलोमिटर प्रसारण लाइनको प्रसारण अनुमतिपत्र जारी गरेको छ । ३३ केभी, १३२ केभी, २२० केभी र ४०० केभी क्षमताको ५३८२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गर्न अनुमतिपत्र जारी गरेको विभागका महानिर्देशक जीबछ मण्डलले बताए ।
‘३३ केभीको को ९८७ सर्किट किलोमिटर, १३२ केभीको २३३० सर्किट किलोमिटर, २२० केभीको ११०७ सर्किट किलोमिटर र ४०० केभीको ९५८ सर्किट किलोमिटर प्रसारण लाइनको प्रसारण अनुमतिपत्र जारी भएको छ’ उनले भने ।
यसैगरी, विभागले ३७०३ सर्किट किलोमिटर बढी प्रसारण लाइनको अध्ययन अनुमतिपत्र जारी गरेको छ । ३३ केभी क्षमताको ४८६ सर्किट किलोमिटर, १३२ केभीको १११७ सर्किट किलोमिटर, २२० केभीको ४७४ सर्किट किलोमिटर र ४०० केभीको १६२६ सर्किट किलोमिटर लाइनको अध्ययन गर्न सर्वेक्षण अनुमतिपत्र जारी गरेको मण्डलले बताए ।