Friday, March 28, 2025
spot_img

लगानी बोर्डद्वारा एक वर्षमा करिब ३ खर्ब लगानी स्वीकृत

spot_img

Share

spot_img

काठमाडाैँ । लगानी बोर्डले गत आर्थिक वर्षमा करिब ३ खर्ब रुपैयाँ लगानी स्वीकत गरेकाे छ । बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले विभिन्न ९ परियाेजनाका लागि २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ लगानी स्वीकृत गरेको विवरणसहित कार्यसम्पादन प्रतिवेदन बाेर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप गत जेठ २२ मा ९०० मेगावाटकाे अरुण तेस्रो जलविद्युत् परियोजनाको ‘हेडरेस टनेल’को ‘ब्रेकथ्रु’ भएपश्चात् उक्त परियोजनाको जेनेरेसनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ।

तल्लो अरुण जलविद्युत् परियोजनाको जग्गा प्राप्ति सुरु भएको र माथिल्लो त्रिशूली-१ जलविद्युत् परियोजनाको निर्माण तीव्रगतिमा अगाडि बढिरहेको बाेर्डले जानकारी दिएकाे छ ।

अपर मस्र्याङ्दी-२ जलविद्युत् परियोजना, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर र वाणगंगा) र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा रहेको छ । डाबर नेपालको क्षमता वृद्धि-उत्पादन विविधिकरण परियोजनाको लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको छ। साथै रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न जर्मनीसँग समझदारी भएकोमा उक्त कम्पनीबाट प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ।

वीरेठाँटी-मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्यांकन भइरहेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ।

पश्चिम सेती र सेती नदी-६ जलविद्युत् परियोजनाको एमओयू बमोजिम विकासकर्ताले पश्चिम सेती जलविद्युत् परियोजनाको मस्यौदा विस्तृत परियोजना प्रतिवेदन बोर्डको कार्यालयमा पेस गरेको भएकाे छ । उक्त मस्यौदा प्रतिवेदनको प्राविधिक समीक्षा-पुनरावलोकन गरी प्रतिवेदन लगानी बोर्ड समक्ष पेस गर्नका लागि विज्ञसहितको कार्यदल गठनको प्रक्रिया अगाडिसमेत बढेको छ।

लगानी बोर्डबाट परियोजना विकास र सहजीकरणलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न स्ट्याण्डर्ड अपरेटिङ कार्यविधि, परियोजना समन्वय समिति गठन भएको छ । लगानी बोर्डमार्फत हुने सेवा प्रवाहलाई सहजीकरण गर्न प्रणाली र प्रक्रिया स्वचालित गरिएको छ । तेस्रो नेपाल लगानी सम्मेलनको सचिवालयका रूपमा लगानी बोर्डको कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

लगानी प्रवर्द्धनकै क्रममा विदेशस्थित नेपाली कूटनीतिक नियोग, नेपालस्थित विदेशी कूटनीतिक नियोग, विकास साझेदार, विभिन्न देशका लगानी प्रवर्द्धन निकाय, स्वदेशी तथा विदेशी निजी क्षेत्रका संगठन, गैरआवासीय नेपाली समुदायलगायतको सहकार्यमा दर्जन बढी प्रि-इन्भेष्टमेन्ट सेमिनार, रोड-शो, बहुपक्षीय तथा द्विपक्षीय बैठक आयोजना गरिएको जनाएकाे छ । नेपालमा लगानीका सम्भाव्यताको उजागर गर्दै तयार गरिएका विभिन्न नौ वटा क्षेत्रका १५२ वटा परियोजना प्रस्तुत भएको थियो ।

बोर्डको कार्यक्षेत्रभित्र पर्ने १२ वटा परियोजना (चार ऊर्जा परियोजनासमेत)सहित कुल १९ वटा परियोजनामा आशयपत्र आह्वान गरिएकोमा दुईवटा-परियोजनामा आशयपत्र प्राप्त भई मूल्यांकन अगाडि बढेको छ । उल्लिखित प्रयासबाट नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रूपमा चिनाउन सहयोग पुगेको र आगामी दिनमा प्रत्यक्ष विदेशी लगानी थप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img