काठमाडाैँ । सरकारले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बग्ने खिम्ती खोलामा १२१६ मेगावाट क्षमता खिम्ती–ठोसे–शिवालय जलाशय जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सिमा भएर बग्ने खिम्ती खोलामा बाँध बाँधेर यो आयोजना निर्माण हुनेछ ।
आयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ । अहिले सम्भाव्यता अध्ययन भइरहेको विद्युत् विकास विभागले जनाएको छ । यो विभागले अध्ययन गरिरहेको आयोजनामध्ये सबैभन्दा ठूलो हो । विभागले अहिले २१ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ ।
आयोजनाको बाँधको उचाई २३१ मिटर हुनेछ । यो खिम्ती बजारबाट १० किलोमिटर माथि खिम्ती र तामाकोसी नदीको संगमस्थल नजिकै पर्दछ । शिवालयमा बाँध बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरी विद्युत उत्पादन गरिनेछ ।
यस आयोजनाको वार्षिक ऊर्जा उत्पादन १४११.३५ गिगावाट घण्टा हुनेछ । वर्षायाममा ८३.४८ गिगावाट घण्टा र सुख्खायाममा १३२७.८७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ । ग्रामीण क्षेत्रसँग जोडिएर दुर्गममा विद्युतको पहुँच पुर्याउनु, बाढी नियन्त्रण गर्दै जलस्रोत व्यवस्थापनका लागि सहयोग गर्नु यो आयोजनाको उद्देश्य हो । यो आयोजना निर्माणका लागि ८ वर्ष लाग्ने अनुमान छ ।
आयोजनालाई यसअघि १७०० मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको भएता अझै टुंगो भने लागेको छ । विभागले यसको अध्ययन गरिरहेको छ । आयोजनाको सम्भाव्यता अध्ययन छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेकाे छ ।
२ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएकाे छ । यसमा लगानी जुटाउन लगानी बोर्डले लगानी सम्मेलनको ‘सो केश’ मा समेत राखेको थियो । ‘सो केश’मा रहेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना पनि यही थियो ।
आयोजनामा बंलगादेशी लगानीकर्ता इच्छुक
यो आयोजना निर्माण गर्न बंगलादेशका लगानीकर्ताको चासो रहेको जनाइएको छ । काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत् आयोजनासँगै खिम्ती–ठोसे–शिवालयमा इच्छा देखाएका छन् । सुनकोसी–३ को प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने क्रममा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद मबिबुर रहमानले सुनकोसी–३ सँगै खिम्ती–ठोसे–शिवालयमा समेत लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
अरुण ३ मोडालिटीमा बंगलादेशका लगानीकर्ताको चासो रहेको उक्त आयोजनामा सम्भवतः बंगलादेशकै लगानीमा निर्माण अगाडि बढ्ने अपेक्षा गरिएको छ । आयोजना बंगलादेशले बनाउने र विद्युत पनि लैजाने गरी लगानी गर्न खोजेका छन् ।
विद्युत् व्यापार सम्झौता
बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् लैजाने भएको छ । यसका लागि बंगलादेशको मन्त्रीपरिषदले समेत स्वीकृती दिइसकेको छ भने भारतले समेत यसको अनुमति दिएको छ । भारत हुँदै विद्युत् लैजान गत साउन १३ गते त्रिपक्षीय सम्झौता गर्ने तयारी गरिएको थियो । तर, बंगलादेशमा आरक्षणको विरोधमा भएको आन्दोलन नरोकिएपछि तत्कालका लागि व्यापार सम्झौता रोकिएको छ ।
आरक्षणको विरोधमा भएको आन्दोलन रोकिएलगतै सम्झौता प्रक्रिया अघि बढाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
लामो सयमदेखिको निरन्तर छलफल र वार्तापछि नेपाल र बंगलादेशबीच विद्युत् व्यापार सम्झौता हुने टुंगो लागेको थियो । तीन देशको मन्त्रीको उपस्थितीमा भारतीय प्रसारण लाइनको उपयोग गरी बंगलादेश विद्युत् निर्याग गर्ने गरी ‘विद्युत् व्यापार सम्झौता’ हुन लागेको थियो । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले १६ पुस २०८० मा नेपालबाट उत्पादित विद्युत् पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।
सोहीबमोजिम प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ ।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने प्राधिकरणले जनाएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।