काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले निर्माण प्रक्रिया अघि बढाएको ८७ मेगावाटको सेतीनदी–३ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा अघि बढाएको आयोजनाको अध्ययन पूरा गरी वित्तीय व्यवस्थापनको काम भइरहेको छ ।
आयोजनाको सम्भाव्यता अध्ययन पूरा गरी निर्माणको चरणमा लैजान वित्तिय व्यवस्थापनका लागि सम्भाव्य वित्तिय संस्थाहरूको खोजी कार्य भइरहेको कम्पनीले जानकारी दिएको छ । कर्जा व्यवस्थापन गरी ठेकेदार नियुक्ति लगायतका कामहरू अगाडि बढाउने योजनाअनुरुप कार्य भइरहेको जनाइएकाे छ ।
आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने कम्पनीले जानकारी दिएको छ । बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरीबाट ४२५१ मिटर लामो सुरुङमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।
आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सतियामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको चैनपुर सबस्टेसनमा जोडिनेछ ।
कम्पनीले ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९३ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना र ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजनाको पनि निर्माण प्रक्रिया अघि बढाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले नियमीत विद्युत् उत्पादन गरिरहेको छ ।
यसैगरी, अहिले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएकाे छ । प्राधिकरणले प्रसारण लाइन तयार नगर्दा अहिले यी आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेका छैनन् । सहायक कम्पनीमार्फत नै निर्माण सम्पन्न १४.८ मेगावाटको माथिल्लो सान्जेनले भने विद्युत् उत्पादन गरिरहेको छ ।