काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने विद्युतीय सरंचनाको निर्माण प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगेको हो ।
भरपर्दाे, दीगाे र गुणस्तरीय सेवा आपूर्ति गर्न ११ क्लस्टरमा विभाजन गरी आगामी २६ वर्षकाे मागलाइ धान्ने संरचना तयार गर्ने गरी गुरुयाेजना बनाएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार ८ वर्षको अवधिमा प्राधिकरणले प्रसारण लाइनको क्षेत्रमा गुणात्मक फड्को मारेको छ ।
स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झण्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको उनले जानकारी दिए ।
१३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ । कोशी, तामाकोशी तथा कालीगण्डकी कोरिडोर, मस्र्याङ्दी–काठमाडौं, त्रिशूली–काठमाडौं र विभिन्न कारणले जीर्ण बनेको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएका छन् । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । काबेली कोरिडोर, सोलु करिडोर चमेलिया कोरिडोर लगायतका धेरै १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा छन् ।
खिम्ती–बाह्रबिसे–काठमाडौं ४०० केभी, मस्र्याङ्दी कोरिडोर २२० केभी र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनहरूको निर्माण अन्तिम चरणमा छन् । यीबाहेक १३२ केभीका धेरै प्रसारण लाइन निर्माणाधीन छन् । ८वर्षअघि २ हजार ९०० सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले बढेर ६ हजार ५ सय सर्किट किलोमिटर पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने साउथ कोरिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरूबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । भारतसँगको विद्युत् व्यापारका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी पहिलो अन्तरदेशीय प्रसारण लाइन त बनेको थियो तर ढल्केबरमा २२० केभी सबस्टेसन अलपत्र थियो । गत ८ वर्षभित्र २२० केभी सबस्टेसन निर्माण सम्पन्न मात्र गरिएन, ४०० केभीका हैटौंडा र इनरुवा सबस्टेसन पनि यहीबीचमा निर्माण सम्पन्न गरी सञ्चालन गरिएका छन् ।
नयाँ खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा ४०० केभीका सबस्टेसन निर्माणाधीन छन् । २२० केभीका हेटौंडा, ढल्केबर, इनरुवा, त्रिशूली ३ बी हब, चिलिमे हब, मातातिर्थ, नयाँ कुश्मा, नयाँ बुटवल, भरतपुर, तुम्लिङटार, वसन्तपुर, तातोपानी दाना, नयाँ खिम्ती, मार्कीचोक, उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएका छन् । १३२ केभीका धेरै सबस्टेसन निर्माण गरिएका छन् । ८ वर्षअघि २ हजार २०० एमभीए रहेको सबस्टेसन क्षमता बढेर १३ हजार एमभीए पुगेको छ ।