काठमाडाैँ । काङ हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको १७.८५ मेगावाटको माथिल्लो मैवा खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए)) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद बिक्री गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् हिउँदमा प्रतिमेगावाट ८.४० रुपैयाँ र बर्खामा प्रतिमेगावाट ४.८० रुपैयाँमा खरिद गर्नेछ ।
ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने माथिल्लो मैवा जलविद्युत् आयोजनाको निर्माण सम्झौताअनुसार आगामी २०८६ असार १ गते सम्पन्न भएर व्यापारिक उत्पादन शुरु गर्ने मिती तय भएको छ ।
आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार बाटो, विद्युत् निर्माण आयोजनास्थलमा पुगिसकेकाले आयोजना निर्माण तत्काल शुरु भई तोकेको समयभन्दा अगाडि नै सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाको सम्पन्न गर्न ३ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमध्ये बैंकहरूबाट ७० प्रतिशत र शेयर सदस्यबाट ३० प्रतिशत लगानी गरिने जनाइएको छ ।