Thursday, November 14, 2024
spot_img

लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य हासिल गरेकाे ऊर्जामन्त्री खड्काको दाबी

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै लक्षित कार्यक्रममा ९८ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ‘असम्भव केहि पनि छैन, एकलै सम्भब छैन’ भन्ने नारा अनुसार ऊर्जा मन्त्रालयको अब्बल टीमका कारण सम्भब भएको बताए ।

मन्त्री खड्काले सुशासन, पारदर्शिता र जवाफदेहीतालाई मूल मन्त्रको रुपमा लिई अघि बढेको बताएका छन् । मन्त्रालयले अघिल्लो सरकारले तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना’ तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेश गरिएकोलाई सरकारको सय दिनका मुख्य उपलब्धिको रुपमा लिएको छ ।

४६.६ अर्ब अमेरिकी डलर खर्च लाग्ने उक्त कार्ययोजनाले आगामी सन् २०३५ सम्म देशको कुल विद्युत् जडित क्षमता २८ हजार ५ सय मेगावाट हुने उल्लेख छ । १३ हजार ५ सय मेगावाट आन्तरिक खपत हुने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य रहेको उक्त कार्यायोजना कार्यान्वयनका लागि आर्थिक स्रोतको भने सुनिश्चितता छैन ।

यसैगरी ऊर्जा मन्त्रालयको सय दिने उपलब्धिका रुपमा जलस्रोत र सिंचाई क्षेत्रमा अध्ययन, अनुसन्धान कार्याको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष पेश भएको उल्लेख छ ।

मन्त्रालयले एकसय दिनमा गरेका मुख्य मुख्य उपलब्धीहरूः

१. ऐन, कानून तर्जुमा तथा संस्थागत पुनर्सरचनातर्फः

राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यक ऊर्जा क्षेत्रको योजनावद्ध एवं समयक्रमानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१” तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌द्मा पेस गरिएको। • जलस्रोत र सिंचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेस भएको। जल तथा मौसम विज्ञा नीति, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको ।

२. ऊर्जातर्फः

३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगम बीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको। ३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा आउँदो सुख्खायामको विद्युत मागलाई मध्यनजर गरी स्वदेशी विद्युत उत्पादनले अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केवर-मुजफ्फरपुर ४०० केभी प्रशारण लाईनबाट २०० मे.वा. र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रशारण लाइनबाट ३० मे.वा. आरटीसी विद्युत आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनीबीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको। २२०/१३२/३३ के.भी. चिलिमे हब सबस्टेसन र २२०/१३२/३३ के.भी. त्रिशुली हब सबस्टेसन गरी २ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको। मध्यभोटेकोशी ज.वि.आ. बाट बाह्रबिसे सबस्टेसन सम्मको ४ कि.मी. को २२० के.भी. सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको ।

• ढल्केबर इनरुवा ४०० के.भी. प्रसारण लाईन र ढल्केबर-लोहारपट्टि १३२ के.भी. प्रसारण लाइन एवं १३२/३३/११ के.भी. सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको ।

• चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाईन (२८.१ कि.मी., डबल सर्किट / मल्टिपल सर्किट) को निर्माण कार्य लगभग सम्पन्न भएको ।

• थप २३४.५ एम.भि.ए. क्षमताको (बुर्तिवाङ ४६ एम.भि.ए. वाग्लुङ, पौडीअमराइ ४६ एम.भि.ए. गुल्मी, लोहारपट्टी ८२.५ एम.भि.ए. महोत्तरी, मलेखु ६० एम. भि.ए. धादिङ) नयाँ सबस्टेशनहरुको निर्माण कार्यलाई तीव्रता दिइएको ।

• रसुवास्थित १११ मे.वा. क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्ला स्थित १०२ मे.वा. को मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२.५ मे.वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको ।

• सोलुखुम्बु जिल्ला स्थित १२ मे.वा. क्षमताको दुधकुण्ड खोला ज.वि.आ., म्याग्दी जिल्ला स्थित ३८ मे.वा. क्षमताको निलगिरी खोला ज.वि.आ., सिन्धुपाल्चोक जिल्ला स्थित ९९० कि.वा. क्षमताको सेलाङ खोला साना ज.वि.आ., कास्की जिल्ला स्थित २५ मे.वा. क्षमताको सेती नदी ज.वि.आ., बाग्लुंङ जिल्ला स्थित ४.९६ मे.वा. क्षमताको भीम खोला साना ज.वि.आ., संखुवासभा स्थित ५ मे.वा. क्षमताको लंखुवा साना ज.वि.आ. र गोरखा जिल्ला स्थित २ मे.वा. क्षमताको अप्पर रिचेत खोला ज.वि.आ. लगायतका निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुबाट करिव ८८ मे. वा क्षमताका जलविद्युत आयोजनाहरु संचालनमा ल्याई राष्ट्रिय प्रशारण ग्रिडमा आवद्ध गरी विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ गरिएकाे ।

• गोरखास्थित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौटका लागि टर्म्स अफ रिफरेन्स, लागत अनुमान र ईओआई सम्बन्धी कागजातहरु तयार भइरहेको एवम् आयोजनाको निर्माण प्रारूप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाई पम्प जडान कार्य सम्पन्न भएको। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिडबाट उत्पादित विद्युत रास्ट्रिय प्रसारण ग्रिडमा जडान गरी करिब ३०० घरधुरीमा विद्युत सेवा संचालन कार्य सम्पन्न भएको ।

• सरकारको १०० दिनको यहि अवधिमा बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्‌को सामना समेत गर्नुपरेको परिप्रेक्ष्यमा सोबाट प्रभावित विद्युत संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा विद्युत सप्लाई सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिइएको ।

३. जलस्रोत तथा सिंचाइतर्फः

• कैलाली जिल्लामा अवस्थित रानी जमरा कुलारिया सिंचाइ योजनाबाट १४,३०० हे. मा सिंचाइ सुविधा पुगेको र ४.७१ मे. वा. क्षमताको विद्युत गृह संञ्चालनमा ल्याइएको ।

• जलस्रोत तथा सिंचाई विभागबाट यस अवधिमा सतह तथा भूमिगत सिंचाइ मार्फत थप करिव २६६ हेक्टर जमिनमा सिंचित क्षेत्र विस्तार गरिएको ।

• देशका विभिन्न नदी तथा खोलाहरुमा जलस्रोत तथा सिंचाइ विभागबाट करिव ५ कि.मि. तटवन्ध निर्माण कार्य सम्पन्न गरी करिव ४.५ हेक्टर जग्गा उकास भएको ।

• बाँके जिल्लामा अवस्थित सिक्टा सिंचाई प्रणाली (१६००० हेक्टर) र बबई सिंचाई प्रणाली अन्तर्गत पश्चिमी मूल नहरको डिजाइन, लागत अनुमान स्वीकृत भई स्रोत सहमतिको लागि अर्थ मन्त्रालयमा पेस भएको ।

• सरकारको १०० दिनको यहि अवधिमा बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्‌को सामना समेत गर्नुपरेको परिप्रेक्ष्यमा सोबाट प्रभावित सिंचाई, नदी नियन्त्रण सम्बन्धि संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा आपतकालीन उद्धार, सहयोग गर्ने तथा सिंचाई सेवा सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिईएको।

४. जल तथा माैसम विज्ञानतर्फः

• ९२ वटा जलविज्ञान केन्द्रहरुको तथ्याङ्क प्रशोधन सम्पन्न गरी देशभर अतिजन्य मौसम र वाढी सम्बन्धी पूर्वसूचना प्रवाहको सहज उपलब्धता सुनिश्चित गर्दै तथ्यांकको गुणस्तरीयतामा उल्लेखनीय वृद्धि गरिएको ।

• थप ४ वटा मानव सञ्चालित जल मापन केन्द्रहरूको स्तरोन्नति गरी पूर्णस्वचालित केन्द्रकोरूपमा संचालनमा ल्याइएको ।

वर्तमान सरकारको १०० दिनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत विस्तार लगायतका कार्यहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अन्तरदेशीय विद्युत व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई तीव्रता दिइएको छ । बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिंचाइ सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको छ । समग्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकारको १०० दिनमा लक्षित क्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप गरी ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img