काठमाडाैँ । चिलिमे हाइ ड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा विद्युत बिक्रीमार्फत ३६ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । याे विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३४ करोड २८ लाख रुपैयाँ थियो । असोज मसान्तसम्ममा कम्पनीले २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १.३९ प्रतिशत बढेको छ।
७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमे हाइड्रो पावर कम्पनीको जगेडा कोषमा ३ अर्ब १८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । यही जलविद्युत् गृहबाट उत्पादन भएकाे बिजुली आजदेखि बंगलादेश निर्यात हुँदै छ ।
कम्पनीकाे रसुवामा २२.१ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्रबाट नियमित विद्युत् उत्पादन भइरहेकाे छ । चिलिमेकाे सहायक कम्पनीमार्फत निर्माण भएकाे रसुवागढी, सान्जेन र भाेटेकाेसी जलविद्युतकाे काम अन्तिम चरणमा पुगेकाे छ । माथिल्लाे सान्जेनकाे विद्युत भने राष्टिय ग्रिडमा जाेडिसकेकाे छ ।