काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म १० हजार २३१ मेगावाटका विद्युत् आयोजनाहरू उत्पादन अनुमति वितरण गरीसकेको छ । विभागले जलविद्युत्, सौर्य, वायु लगायतका विद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र वितरण गरेको हो ।
विभागका अनुसार २०८१ सालको असोज मसान्तसम्म १० हजार २३१ मेगावाटका २७३ आयोजनाले उत्पादन अनुमतिपत्र पाएका छन् । उत्पादन अनुमतिपत्रको लागि दरखास्त दिएका मध्ये यी आयोजनाले अनुमति पाएका हुन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार २ सय २६ मेगावाटका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका थिए ।
२०८० सालको साउनदेखि असोजसम्मको अवधिमा मात्रै ३७० मेगावाटका १४ विद्युत् आयोजनाले उत्पादन अनुमति पाएका विभागले जानकारी दिएकाे छ । यो अवधिमा ११०४ मेगावाट विद्युत् उत्पादन गर्न आवेदन परेको थियो ।
विभागले १० हजार मेगावाट बढी विद्युत् उत्पादन गर्न अनुमतिपत्र वितरण गरीसकेपनि असोज मसान्तसम्म ३१३९ मेगावाट मात्रै बिजुली उत्पादन भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज अन्तिमसम्म जलविद्युतबाट ३०६३.७३ मेगावाट, सौर्यबाट ६८.३८ मेगावाट, सह–उत्पादनबाट ६ मेगावाट गरी जम्मा ३१३८.१ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३३३ प्रसारण लाइन आयोजनाले निर्माण अनुमति लिएका छन् । जसमा ४०० केभी क्षमताका ९०, २२० केभी क्षमताका २९, १३२ केभी क्षमताका ११३, ६६ केभी क्षमाताका ६ र ३३ केभी क्षमताका ९५ लाइन आयोजना निर्माण अनुमति पाएको विभागको तथ्यांक छ । यसैगरी, १७१ लाइन आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन् ।