काठमाडौँ । रसुवामा निर्माण सम्पन्न ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफतापूर्वक सम्पन्न भएको छ । सान्जेन जलविद्युत् कम्पनीले जिल्लाको आमाछोदिङ्मो–५ मा निर्माण सम्पन्न गरेकाे आयोजनाको उत्पादन परीक्षण सम्पन्न गरी एक साताभित्र व्यवसायिक उत्पादन सुरु हुने भएको हो ।
आयोजनाबाट मंसिर २८ गतेभित्र व्यवसायिक उत्पादन थाल्ने योजना रहेको कम्पनी सचिव घनश्याम श्रेष्ठले बताए । ‘आयोजनाको तीन वटै युनिटको सफलतापूर्वक परीक्षण सम्पन्न भएको छ’, उनले भने, ‘अहिले नेपाल विद्युत् प्राधिकरणलाई निशुल्क विद्युत् दिइरहेका छौ । प्राधिकरणको तालिकाअनुसार मंसिर २७ गतेसम्म परीक्षण गर्नेछ र २८ गतेदेखि व्यवासायिक उत्पादन सुरु हुनेछ ।’
कम्पनीले आयोजनाको तीनवटा युनिटमध्ये पहिलो युनिटको सफल परीक्षण गरी मंसिर ७ गतेदेखि ग्रीडमा जोडेको थियो । कम्पनीले क्यास्केड मोडलमा निर्माण गरेका पिकिङ्ग रन अफ दि रिभर प्रकारको दुई आयोजनामध्ये सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले २०८० भाद्र मसान्त मै सम्पन्न गरी २०८० साल असोज २१ गतेबाट ११ के.भी. कन्टिन्जेन्सी प्रसारण लाइन मार्फत व्यापारिक उत्पादन गरिरहेको छ ।
कम्पनीले उक्त आयोजनाको विद्युत प्रवाहको लागि आफैले ८ किलोमिटर लामो ११ केभी डवल सर्किट प्रसारण लाइन तथा १३२/११ केभी सवस्टेसन तत्काल निर्माण कार्य सम्पन्न गरी चिलिमे त्रिशुली ६६ केभी प्रसारणलाइन मार्फत क्षमताको सिमितताका कारण करिव ८.५ मेगावाट विद्युत वैकल्पिक रुपमा विक्री गरी हाल सम्म करीब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको छ ।
सान्जेन तथा माथिल्लो सान्जेन दुबै आयोजनाहरूको निर्माणकालमा आएको २०७२ सालको महा–भुकम्प, कोभिड–१९, नाकावन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायतका विविध अवरोधहरूले आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको कम्पनीले जानकारी दिएको छ । हालै चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाइन सम्पन्न हुने बित्तिकै आयोजनाहरूबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।
नेपालमा निर्माणाधिन पिकिङ्ग रन अफ दि रिभर आयोजनामध्ये यो नमुना आयोजना रहेको कम्पनीले जनाएको छ । सान्जेन माथिल्लो जलविद्युत आयोजनाको हेडवर्समा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने पिकिङ्ग पोखरीको निर्माण गरिएको छ । उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप विजुली उत्पादन गरि राष्ट्रिय प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिनेछ । उक्त पिकिङ्ग पोखरीका कारण आयोजना मर्मत सम्भार गर्न र इमर्जेन्सी व्रेकडाउनमा समेत पावरहाउस सञ्चालन गर्न सकिने जनाइएको छ ।
नेपालमा भएका क्यासकेड आयोजनामध्ये EDV (Energy Dissipating Valve) जडान गरी माथिल्लो सान्जेन आयोजना मर्मत सम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको श्रेष्ठले बताए ।
नेपालमै नमूना प्रविधिको रुपमा पहिलो पटक जडान गरिएको उक्त प्रविधी आगामी दिनमा अन्य क्यासकेड आयोजनाहरूले जडान गरी क्यासकेडको तल्लो आयोजना माथि माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए । जर्मनीमा निर्माण भएको EDV को कारण कम्पनीलाई आयोजना मर्मत सम्भारको क्रममा हुने क्षतिको अन्त्य गरी आर्थिक रुपमा ठुलो राहत दिने कुरा समेत श्रेष्ठले जानकारी दिए । सोही विशेषताका कारण काठमाण्डौ विश्वविद्यालयले उक्त आयोजनाको Model आफ्नो परिक्षण ल्यावमा मोडेल आयोजनाको रुपमा सञ्चालन गरेको छ ।
हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनाहरूमध्ये यो नमुना आयोजना रहेकोले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत विधार्थीहरूको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागि समेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठले बताए ।
सान्जेन (माथिल्लो) जलविद्युत आयोजनको सिभिल निर्माण कार्य ECI-Bajraguru CPL J/V इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्व कै ठूलो टर्वाइन निर्माणकर्तामध्ये चिनियाँ कम्पनी Dongfang Eletric Corporation ले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण कार्य स्वदेशी कम्पनी Nepal Hydro Electric Ltd ले गरेको हो ।