काठमाडौँ । नेपालको विद्युत् उत्पादन जडित क्षमता ३४०६ मेगावाट पुगेको छ । देशमा जलविद्युत् उत्पादन सुरु भएको करिब ११३ वर्षको अवधिमा सो परिमाणको विद्युत् जडित क्षमता पुगेको हो ।
२०६८ साल जेठ ९ गतेदेखि सञ्चालनमा आएको ५०० किलोवाटको फर्पिङदेखि हाल नेपाल विद्युत् प्राधिकरणलाई निशुल्क विद्युत् दिइएको रसुवागढी, सान्जेन, सुपर काबेली ‘ए’ र लङ्खुवासहित गणना गर्दा उक्त परिमाण पुगेको हो ।
प्राधिकरण र निजी क्षेत्रको लगानीमा निर्माण भई जलविद्युत्, सौर्य, वायु लगायतका विद्युत् आयोजना सञ्चालनमा आएका छन् । पछिल्ला वर्षहरूमा वार्षिक रुपमा ७/८ सय मेगावाटको हाराहारीमा विद्युत् प्राधिकरणमा जोडिन थालेका छन् ।
२०८१ सालको मंसिर महिना मात्रै १७२ मेगावाट ४ आयोजनाको परीक्षण पूरा गरी राष्ट्रिय ग्रिडमा जोडिएका छन् । यी आयोजनाहरूले छिट्टै व्यावसायिक उत्पादन सुरु गर्ने छन् । १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटका सान्जेन, १३.५ मेगावाटको सुपर काबेली ‘ए’, ५ मेगावाटको लंखुवा खोलाको विद्युत् गत मंसिरमा राष्ट्रिय ग्रिडमा जोडिएको हो ।
हालसम्म प्रणालीमा जोडिएकामध्ये सबैभन्दा ठूलो प्राधिकरणको सहायक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखामा निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी हो । यो आयोेजनाको परीक्षण उत्पादन २०७८ असारबाटै भएपनि व्यापारिक उत्पादन भने भदौ ४ गतेबाट सुरु भएको थियो । अहिले यो आयोजनाको विद्युत् उत्पादन बन्द छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले आयोजनामा क्षति भएपछि बन्द भएको उत्पादन यही पुस १० गतेदेखि पुनःसुरु हुने भएको छ ।
विद्युत् उत्पादन बढ्दै गएसँगै नेपालले छिमेकी राष्ट्र भारत र बंगलादेशमा पनि विद्युत् निर्यात गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
यसैगरी, बंगालदेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरिसकेको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेरियङ कमिट, जेएससी)को गत असोज १७ गते सम्पन्न छैठौं बैठकले उक्त विद्युत् व्यापारमा त्रिपक्षीय सम्झौता गर्ने टुंगो लागेको थियो । सम्झौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् निर्यात गर्नेछ । प्राधिकरणले गत नोभेम्बर एक दिन विद्युत् निर्यात गरेको थियो । अब, आगामी जुन १५ देखि फेरि निर्यात सुरु गर्नेछ ।
प्राधिकरणले हालसम्म १० हजार ३ सय मेगावाटका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गरिसकेको छ । ८ वर्षअघि २ हजार ८०० मेगावाटको मात्र विद्युत खरिद सम्झौता गरिएकोमा निजी क्षेत्रका आयोजनाहरूलाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण अहिले १० हजार ३०० मेगावाट भन्दा बढीको पिपिए सम्पन्न भएको हो ।