काठमाडौँ । लालुपाते हाइड्रो पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । मनाङ जिल्लाको नासौं गाउँपालिकामा निर्माण हुने लागेको आयोजनामा आज अर्थात शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको उपस्थितिमा कम्पनी र ऋण प्रवाह गर्ने वित्तीय संस्थाबीच सम्झौता भएको हो ।
आयोजनामा सानिमा बैंकको अगुवाई ७ बैंक तथा वित्तीय संस्थाले ७४७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनामा सानिमा बैंकले १९७ करोड, नबिल बैंकले १५० मेगावाट, सिटिजन्स बैंकको अगुवाईमा १०० करोड, राष्टिय बाणिज्य बैंकले १०० करोड, कुषि विकास बैंकले १०० करोड, इचआइडिसीएलले १०० करोड र नेपाल एसबीआइ बैंकले १०० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । आयोजना सम्पन्न गर्न ९९६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बाँकी स्वपुँजी लगानी रहनेछ । इचआइडिसीएल र नेपाल एसबीआइले शशर्त हस्ताक्षर गरेकाेले जुन बैंकले अगाडि निर्णय गर्छ साेही बैंकबाट ऋण लिइने कम्पनीका कार्यकारी अध्यक्ष माेहनकुमार डाँगीले बताए ।
आयोजनाकाे अहिले निर्माण पूर्वकाे काम भइरहेकाे कम्पनीका कार्यकारी अध्यक्ष डाँगीले बताए । अबकाे १ महिनापछि निर्माण सुरु हुनेछ । आयोजनाकाे काम ३३ महिनाभित्रै सम्पन्न गर्ने याेजना रहेकाे पनि उनले बताए ।
१) आयोजना स्थल र स्थानीय सहकार्यः
गण्डकी प्रदेश, मनाङ जिल्ला नासौं गाउँपालिकामा रहेको डोना खोला (टोपोमा दाना खोला) को पानी प्रयोग गरि याे आयोजना निर्माण गर्न लागिएको छ । यो आयोजनाको क्याचमेन्ट एरियामा डोना लेक रहेको छ । यो आयोजनामा पुग्नको लागी काठमाण्डौ–मुगलिङ्ग–डुम्र–बेशीसहर–ताल हुदै खोत्रो भन्ने स्थानमा यो आयोजनाको पावर हाउस रहेको छ ।
काठमाण्डौँबाट २५५.८ किलोमिटरको दुरीमा रहेको पावर हाउसस्थलमा सरदर ८ घण्टाको निजी गाडिको यात्रामा पुग्न सकिन्छ । खास गरी नासौं गाउँपालिकाको वडा नं. २, ३ र ५ मा यो आयोजना अवस्थित रहेको छ । जसमा नासौं गाउँपालिकाको सुन्दर गाउँ वडा नं. २ नाँचै मुख्य प्रभावित क्षेत्र हो । यो वडामा जम्मा ४२ घरधुरी रहेका छन र शतप्रतिशत गुरुङ्ग वस्ती रहेको छ । स्थानीय बासिन्दाको अपेक्षा सेयर लगानी र रोजगारी रहेको छ ।
कम्पनीले ४२ घरधुरीलाई बैंकबाट ऋण दिलाएर भएपनि शेयर लगानी गराउने र सकेसम्म तालिम गराएर भएपनि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने प्रतिवद्धता वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत हुनु पूर्व आयोजित सार्वजनिक सुनुवाईमा गरेको छ र सोही बमोजिम सहभागी गराउदै आएको छ । कम्पनीको सोही स्पष्ट नीतिका कारण स्थानीय सर्वसाधारण र जनप्रतिनिधिहरूको सहयोग राम्रो रहेको कम्पनीले जानकारी दिएको छ ।
२) आयोजनाको प्राविधिक पक्षः
दाना खोला जलविद्युत आयोजनाको बाँधस्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा रहेको छ । सो बाँध लगतै २ वटा इन्टेक हुदै दाना खोलाको पानी भूमिगत डिसेन्डरमा प्रवेश गर्नेछ जसको आयाम १००×७ ×१२.२ मिटर छ । डिसेन्डरवाट ३ किलोमिटर हेडरेस सुरुङ हुदै पानी १.६ किलोमिटर पेन्स्टक सुरुङमा प्रवेश गर्छ । हडेरेस र पेनस्टकको बीच २४० मिटर लम्बाईको सर्ज सुरुङ्ग रहनेछ । पेनस्टक पश्चात भूमिगत विद्युतगृह र भूमिगत स्वीचर्याट रहने छ । विद्युतगृह समुन्द्री सतहवाट १८२५ मिटरमा रहेको छ । जसमा ३ वटा पेल्टन टर्वाइन रहने छन र पानी ४१५ मिटर टेलरेस सुरुङ्ग हुँदै मर्स्याङ्दी खोलामा छोडिनेछ । यो आयोजना शतप्रतिशत भुमिगत हुनेछ ।
(३) कार्य प्रगतीः
आयोजनास्थलमा विद्युतगृहको क्याम्प, आर्मी क्याम्प निर्माण सम्पन्न भएकाे छ । पहुँचमार्ग निर्माण द्रुत गतिमा भइरहेको छ । आयोजनाका लागी आवश्यक निजी जग्गा खरिद गरिएको छ । प्रारम्भिक वातावरणीय परीक्षण अनुसार आयोजनालाई आवश्यक पर्ने ४८ हेक्टर जग्गा मन्त्रिपरिषदमा जाने प्रकृयामा रहेको छ ।
कम्पनीले ठेक्का प्रकृयालाई पारदर्शी बनाउने उद्देश्यले मिति २०८१ असोज २२ गतेका अन्नपूर्ण पोष्ट दैनिकमा इओआई प्रकाशन गरि पेश हुन आएका प्राविधिक प्रस्तावहरू मध्ये सिभिल कार्यका लागि प्राविधिक रूपमा छनौट भएका ६ वटा कम्पनीहरूलाई आर्थिक प्रस्ताव माग गरिएको छ । यसरी माग गरिएकाे प्रस्तावमा नेगोसिएसन र छलफल जारी रहेको छ । हाइड्राे मेकानिकल र इलेक्ट्राेमेकानिल कार्यको लागि प्राविधिक प्रस्तावहरू पेश भएका छन । सिभिल कार्यको लागि ठेकेदार छनौट पश्चात हाइड्राे मेकानिकल र इलेक्ट्राे मेकानिकलका लागी पेश भएका प्राविधिक प्रस्तावहरू छनौट गरी आर्थिक प्रस्ताव माग गरीने छ । अबको १ महिनाभित्र सीभिल ठेकेदार छनौट गरी एमएटी र टीआरटी बाट टनेल खन्ने कार्य शुरु गरिने छ भने ३ महिनाभित्र हाइड्राे मेकानिकल र इलेक्ट्राे मेकानिकलको ठेकदार छनौट गरिने छ ।
(४) आयोजनाको आर्थिक व्यवस्थापनः
यो आयोजनाको जम्मा लागत.९९६ करोड रहेको छ । यसमा बैंकहरूबाट ७४७ करोड (७५ प्रतिशत) र प्रवर्द्धकहरू २४९ करोड रुपैयाँ (२५ प्रतिशत) व्यवस्थापन गरिएको छ । प्रवर्द्धकहरूबाट स्वपूँजीको रुपमा लगानी गरिने २४९ करोड रुपैयाँको १० प्रतिशत वा २४९ करोड रुपैयाँ स्थानीयको लागि शेयर जारी गरीनेछ भने सर्वसाधारणको लागी स्वपूँजीको २० प्रतिशत वा ४९.८ करोड रुपैयाँको शेयर जारी गरिने छ । यसरी स्थानीय र सर्वसाधारणवाट ७४७ करोड संकलन हुनेछ । बाँकी स्वपूँजी १७४.३ करोड संकलन गरिनेमा हालसम्म लगभग १०० करोड संकलन गरी ८३ करोड रुपैयाँ खर्च गरिएको छ ।
यो आयोजना प्राविधिक जनशक्ति र व्यापारीक घरानालाई मिलाएर निर्माण गर्न लागिएको छ । नेपाललाई सबभन्दा चाँडो समृद्ध बनाउन सक्ने क्षेत्र जलविद्युत रहेको र हाल लगभग ५५ लाख जनताको ऊर्जा क्षेत्रमा लगानी रहेको छ । साथै, राज्यको चौथो अंग संचार क्षेत्रबाट उर्जा क्षेत्रमा कलम चलाउने पत्रकार मित्रहरुलाई पनि पानिलाई बत्तीमा परीणत गर्न सक्ने आयोजनाहरुमा लगानी गर्न कम्पनीले अनुरोध गरेको छ । स्वपूँजीको प्रवर्द्धकहरूले लगानी गर्न खुद रकम १७४.३ करोड रुपैयाँमा हालसम्म भएको लगानी घटाएर ७४.३ करोड रुपैयाँ चार जना संचालकको समुहबाट लगानी संकलन गरि राखीएको छ ।
५) भावी योजना
नेपाल सरकारले नेपालको प्राकृतिक जल सम्पदालाई भरपूर उपयोग गर्न क्यू सिस्टम खुल्ला गर्नु पर्छ । हाल यो आयोजना क्यु ४३.७ अनुसार डिजाइन गरिएको छ र यसलाई क्यु ३४.११ अनुसार डिजाइन गर्दा आयोजनाको क्षमता ८३.३ मेगावाट हुने देखिएको छ । नेपाल सरकार र भारत सरकारले नीतिगत व्यवस्था गरी बी टु बी व्यापार गर्न सक्ने बातावरण बनाएमा वर्षायामको ४.५ महिना ८३.३ मेगावाट उत्पादन गरी १११.९०२ गिगावाट विद्युत भारत निर्यात गर्ने गरी भारतीय कम्पनी श्री मणीकरण पावरसँग सम्झौता समेत भइसकेको छ ।
क्षमता वृद्धि गरी उत्पादन गर्नका लागि आयोजनामा थप १३० करोड रुपैयाँ लागत लाग्ने छ । वर्षायाममा भारतीय रूपैया सरदर ४.५० रुपैया बिक्री गरी बार्षिक लगभग नेरु सरदर ७० करोड आय हुनेछ ।
नेपाल विद्युत प्राधिकरणसँग मिति २०८०मंसिर ५ गते गरीएको विद्युत खरिद सम्झौता अनुसार आयोजनाबाट हिउँदयाममा ३०.७० प्रतिशत र वर्षायाममा ६९.३० प्रतिशत विक्री गरी पहिलो वर्ष १७७ करोड र ८ वर्ष ३ प्रतिशतका दरले वृद्धि गरी ९औं वर्षमा २२० करोड प्राप्त हुनेछ । यसरी समग्रमा आयोजना लागत ११२६ करोड रुपैयाँ र वार्षिक आय ९औ वर्षदेखि ३०० करोड हुनेछ भने मेगावाटको हिसाबले प्रति मेगावाट लागत १३५ करोड हुनेछ । यसका लागि नेपाल सरकारले यथासिघ्र नीतिगत व्यवस्था गर्न अत्यावश्यक छ ।