काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग तीन जलविद्युत् आयोजनाले ग्रिड कनेक्सन सम्झौता गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितीमा ग्रिड कम्पनी र दुई प्रवर्द्धक कम्पनीबीच समझदारी भएको हो ।
समझदारीपत्रमा आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधिः रूरू जलविद्युत् परियोजना लिमिटेडका अध्यक्ष आशिष सुवेदी र ऊर्जा तिला पावर कम्पनी प्रालिका अध्यक्ष भानुभक्त पोखरेल र गिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले हस्ताक्षर गरे । सम्झौताअनुसार रुरु जलविद्युत् परियोजनाले निर्माण प्रक्रिया अघि बढाएको २३५ मेगावाटको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–३ र ऊर्जा तिला पावर कम्पनी प्रालिले निर्माण अघि बढाएको ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न सम्झौता भएको छ ।
रूरू परियोजनाले दुवै आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । तिला–२ ले भने उत्पादन अनुमति पाइसकेको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले हुम्लाको कर्णाली नदीदेखि कालीकोटको फुर्कोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको दोधारासम्म ४०० केभी (कर्णाली काेरिडाेर) प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । उक्त प्रसारण लाइनको लम्बाई १८१ किलोमिटर हुनेछ । यही लाइनकाे फुकाेट हब सबस्टेसनमा तिला २ काे र हुम्ला हब सबस्टेसनमा हुम्ला कर्णाली १ र २ आयोजनाबाट उत्पादीत विद्युत् जोडिनेछ ।
सम्झौता कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताएका छन् । उनले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदै गर्दा सोहीमात्रामा प्रसारण लाइन समेत विस्तार गर्नुपर्ने उल्लेख गरे ।
‘निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा समेत सहभागी हुने व्यवस्था भइसकेको छ । जसले गर्दा आगामी दिनमा उत्पादित विद्युत् खेर जाँदैन’ उनले भने । सम्झौतालाई कार्यान्वयनमा लैजानेगरी काम गर्न कम्पनी र निजी क्षेत्रलाई आग्रह गरे ।
ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक जग्गा प्राप्ति, वनलगायतका समस्या समाधान गर्न सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति गठन गरिएको पनि उनले जानकारी दिए ।
यसैगरी, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आगामी २५ दिनभत्रि ह्विलिङ चार्ज निर्धारणका लागि आवश्यक संयन्त्र निर्माण गर्ने बताए ।








