काठमाडौँ । कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको सिद्धिङ्वा गाउँपालिका र पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको सिमा भएर बग्ने इवा खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागिएको सुपर मष्ट ईवा खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र दिन अन्तिम चरणको काम भइरहेको छ । विद्युत् विकास विभागले आयोजनाको अनुमतिपत्र जारी गर्ने तयारी गरिरहेको छ ।
विभागले आयोजनाको प्रवद्र्धक तीनजुरे हाइड्रो पावर कम्पनीको नाममा अनुमतिपत्र जारी गर्ने तयारी गरिरहेको जनाएको छ । कम्पनीले विद्युत् ऐन २०४९ को दफा ४ र विद्युत् नियमावली २०५० को नियम १२ बमोजिम दरखास्त पेश गरेकोमा नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ को प्रयोजनाका लागि नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साउन ४ गते नै आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तथा आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ ।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा आगामी ३५ दिनभित्र विद्युत् विकास विभाग तथा कम्पनीको कार्यलय समक्ष राय/सुझाव वा प्रतिक्रिया पेश गर्न आग्रह गरेको छ ।
आयोजनाको थप विवरण
यो आयोजनाको जडित क्षमता ४.६ मेगावाट हुनेट । यसबाट वार्षिक सरदर २७.५५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । यस आयोजनाको डिजाइन बहाव १.५५ घनमिटर प्रतिसेकेण्ड र कूल हेड ३६० मिटर हुनेछ ।
आयोजनाको सम्पूर्ण संरचनाहरू ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–१ तथा पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ भएर बग्ने इवा खोलाको बाँया किनारमा रहनेछन् । इवा खोलामा बाँध बाँधी खोलाको बाँया किनारमा निर्माण हुने साइट इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू ग्राभेल ट्रयाप, डिस्याण्डिङ बेसिन, हेडरेस पाइप र पेनस्टक पाइप हुँदै विद्युतगृहमा लगिनेछ । तत्पश्चात टेलरेस नहरमार्फत पुनःइवा खोलामा पठाइनेछ ।
विद्युतगृहमा २.३८ मेगावाटको २ वटा टवाईन जडान हुनेछ । आयोजनाको सम्पूर्ण काम २०८४ चैतभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादीत विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ३० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको ३३/१३२ केभीको अमरपुर सबस्टेसनमा जोडिनेछ ।