काठमाडाैं । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटकाे रसुवागढी जलविद्युत् आयोजनाले विद्युतगृहमा जडित टर्वाइनकाे परीक्षण गर्ने भएकाे छ । साे कार्यका लागि सम्पूर्ण काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।
आयोजनाकाे बाँध, मख्य सुरुङ लगायत संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण गर्ने कार्य भइरहेकाे कम्पनीले जनाएकाे छ ।
१ सय ११ मेगावाट विद्युत उत्पादन गर्न विद्युतगृहमा जडान गरिएका ३ वटा युनिटमध्ये २ वटाकाे परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेकाे कम्पनीले जनाएकाे छ ।
आयोजनाकाे बाँध, बालुवा थिग्रायाउने ३ वटै पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युतगृह लगायत संरचना तथा जडान भएका उपकरणकाे परीक्षण सफल भएकाले अब विद्युत उत्पादनकाे चरणमा पुगेकाे आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए ।
विद्युत उत्पादन सुरु भएपछि वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा याेगदान दिन सकिने ज्याख्वले बताए ।
आयोजनाले उत्पादन गर्ने विद्यु बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँमा नेपाल विद्यु खरिद गर्ने गरी विद्युत खरिद सम्झाैता (पिपिए) भएकाे छ ।
निर्माण गर्नुपर्ने सम्पूर्ण सिभिल संरचनाकाे काम पूरा भइकेकाे तथा जडान गर्नुपर्ने उपकरण समेत जडान गरी परीक्षण समेत सकिन लागेकाले अब आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेड्न तयारी अवस्थामा पुगेकाे कम्पनीले जनाएकाे छ ।
निर्माणको चरणमा १३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएकाेमा भौगोलिक विकटता, बाढीपहिरो, निर्माण सामाग्री ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा लागत ब्याजबाहेक बढेर १८ अर्ब ४७ करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएकाे छ ।
यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ ।
विद्युत तत्काल प्रणालीमा जाेड्न प्रसारण लाइनकाे समस्या रसुवागढीकाे विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिनेछ ।
तर, नेपाल विद्युत प्राधिकरणले आयोजनाकाे विद्युत प्रवाह हुने २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निर्माण अझै सम्पन्न गरी नसकेकाे हुँदा विद्युत उत्पादन सुरु हुन समय लाग्ने देखिएकाे छ ।
प्रसारण लाइनकाे ५ प्रतिशत काम बाँकी रहेकाे र काम सम्पन्न भएपछि परीक्षण गर्न पनि केही समय लाग्ने हुँदा रसुवागढीले विद्युत उत्पादन सुरु गर्न अझै केही समय कुर्नुपर्ने भएकाे छ ।
विद्युत प्राधिकरण व्यवस्थापनले पटक-पटक ताकेता दिए पनि चिनिया ठेकेदारले अहिलेसम्म प्रसारण लाइनकाे काम पूरा गर्न सकेकाे छैन ।
प्राधिकरणकाे ताकेतापछि अहिले ठेकेदारले कामदारकाे संख्या बढाएर प्रसारण लाइनकाे निर्माण तीव्र पारेकाे छ । प्रसारण लाइनकाे टावर निर्माण कार्य द्रुतरूपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएकाे छ ।
अहिले दैनिक साढे ५ सय बढी कामदार तथा दर्जनौँ प्राविधिकले प्रसारण लाइनकाे संरचना निर्माणकाे काम गरिरहेका छन् । प्रसारण लाइनकाे टावर निर्माणकाे काम ९५ प्रतिशत हाराहारीमा पूरा भइसकेको छ ।
चिलिमे सबस्टेसनबाट त्रिशूली थ्री बी हब सबस्टेसनसम्मकाे २८ किलाेमिटर प्रसारण लाइन निर्माणाधीन छ । त्रिशूली थ्री बी हब सबस्टेसनदेखि मातातीर्थसम्म ४८ किलाेमिटर प्रसारण लाइन निर्माण पूरा भइ सञ्चालनमा छ । चिलिमे-त्रिशूली प्रसारण लाइनकाे ७५ वटा टावरमध्ये ६५ वटा निर्माण सम्पन्न भइसकेका छन् । अब १० वटाकाे निर्माण पूरा हुन बाँकी छ ।
भौगोलिक विकटताका कारण प्रसारण लाइनकाे संरचनामा धेरै कठिनाइ हुँदा समय लागेकाे थापाले बताए । रसुवामा चिलिमेकाे सहायक साञ्जेल जलविद्युत कम्पनीमार्फत अगाडि बढेकाे ४२.५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेकाे छ ।
संरचना निर्माणकाे काम सम्पन्न भइ उपकरणकाे परीक्षण भइरहेकाे हाे । यस्तै, २० मेगावाटकाे लाङ्टाङ खोला, १२० मेगावाट भोटेकोशी, २१६ मेगावाटकाे माथिल्लाे त्रिशूली–१, ६ मेगावाटकाे सुपर मैलुङ, ७३ मेगावाटकाे सालासुङ्गी, १४.३ मेगावाटकाे माथिल्लो मैलुङ, २० मेगावाटकाे फलाखु खोला, ३७.३ मेगावाटकाे त्रिशूली थ्री बी लगायत आयाेजना निर्माणाधीन छन् ।
यी सबै आयाेजनाकाे विद्युत चिलिमे-त्रिशूली प्रसारण लाइन मार्फत नै काठमाडाैंसम्म ल्याइनेछ । पहिले नै निर्माण सम्पन्न भएका २२ मेगावाटकाे चिलिमे, ५ मेगावाटको मैलुङ दोभान, १४.८ मेगावाटको माथिल्लो साञ्जेन सञ्चालनमा छन् । यी आयाेजनाकाे विद्युत स्याफ्रुबेँसी–माद्रेढुङ्गा ३८ किमी दूरीको राष्ट्रिय प्रसारण लाइनबाट प्रवाह भइरहेको छ ।








