काठमाडाैँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही मिति २०८२ भदाै ३ देखि ८ गतेसम्म १७औं संस्करणको “नाडा अटो शो २०२५” आयोजना गरिने भएको छ ।
काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि रजिष्ट्रेशन खुल्ला भइसकेकाे छ । चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला हुनेछ ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।
प्रदर्शनीमा २–पाङ्ग्रे, ३–पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् र ग्यारेज उपकरणहरू साथै वित्तीय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षको तुलनामा यस वर्ष छिटो रजिष्ट्रेशन खुल्ला गरिएको हो ।
नाडा अटो शो समितिका सहसंयोजक श्री अनुपकुमार बरालका अनुसार, अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनामा विशेष योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी र आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा र नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ ।