काठमाडाैँ । खोला तथा नदीमा पानीको बहाव क्रमिकरुपमा कम भएसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत उत्पादन घट्दै गएको छ ।
खाेला तथा नदीमा पानीको बहाव घटेसँगै नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाको उत्पादन पनि घट्दै गएकाे छ । तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ ।
नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो । उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनका अनुसार साँझ र बिहानको ‘पिकआवर’ मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ ।
साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ ।
चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र क्षमताअनुसारकै विद्युत् उत्पादन हुन्छ तर याे वर्ष जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा हिमपात कम भएको छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा हिमाल काला पत्थरजस्तै देखिएका थिए ।
हिउँद लाग्नु थालेपछि मात्र फाट्टफुट्ट हिउँ परेकाे थियाे, यसरी पर्ने हिउँ चाँडै पग्लिने गर्छ । लामो समयसम्म टिक्ने गरी पर्याप्त हिउँ नपर्दा जनजीवनमै नकारात्मक असर पार्ने भएकाले यो नकारात्मक सन्देश हो । साथै, विद्युत् उत्पादनमा पनि यसकाे असर देखिन लागेकाे छ ।
नेपालको अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । अहिले देशकाे ३५०० मेगावाटकाे हाराहारीमा जडित क्षमता पुगे पनि हिउँदयाममा करिब १००० मेगावाट मात्र विद्युत उत्पादन हुनेछ । प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । याे माग पूरा गर्न पनि ६०० मेगावाट आयात गर्नुपर्ने हुन्छ ।
नेपाल विद्युत् प्राधिकरणले हिउँदमा छिमेकी राष्ट्र भारतबाट विद्युत् आयात गर्ने र बर्खामा आन्तरिक माग पूरा भइ बढी भएकाे बिजुली भारत निर्यात गर्ने गरेकाे छ । प्राधिकरणले माग पूरा गर्न भारतबाट दैनिक २० घण्टासम्म आयात गरिरहेकाेमा आइतबार (आज) बिहान १२ बजेदेखि १२ घण्टामात्रै आयात गर्नेछ ।
नेपाल र भारतबीच फेब्रुअरीमा प्रोजेक्ट स्टेयअरिङ कमिटी (पीईसी) को बैठकमा भारतले मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने प्रस्ताव गरेको हो । साेहीअनुसार आज बिहान १२ बजेदेखि १२ घण्टा मात्र विद्युत् आयात हुँदा ओद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्ने भएको छ ।
नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने दर पनि यही बैंठकले ताेकेकाे हो । निर्यात गर्दा समेत उक्त दर लागु हुने दाबी गरिएको छ । नयाँ दर अनुसार सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत आदान/ प्रदान गरिने विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको थियो ।
हिउँदको संकट टार्न सोलारलाई प्राथमिकता
नेपालमा नदी प्रवाहमा आधारीत जलविद्युत आयाेजना बढी भएकाेले हिउँदकाे समयमा विद्युत् माग धान्न समस्या हुने गरेकाे छ । सौर्य विद्युत् आयोजनाबाट हिउँदयाममा धेरै विद्युत् उत्पादन हुन्छ र सोही समयमा खोलाको पानीको बहाव कम हुने भई विद्युत् उत्पादनमा कमी हुने भएकाले सौर्य विद्युत् आयोजना जलविद्युत् आयोजनाको परिपूरक भूमिका निर्वाह गर्छ ।
नेपालमा धेरै जलविद्युत् भएकाले हिउँदयाममा जलस्रोतबाट कम उत्पादन हुने र सोको परिपूर्ति सौर्य आयोजनाबाट गर्न सकिन्छ । नेपालमा रहेका ड्यामयुक्त जलविद्युत् आयोजनाहरूले दिउँसो घाम भएको समयमा सौर्यबाट विद्युत् उत्पादन हुँदा सो समयमा पानी बचत गरी पिक आवरमा पुनः विद्युत् उत्पादन गर्न सक्नेछन् ।
पछिल्लाे समय सौर्य विद्युत् क्षेत्रमा लगानी गर्ने प्रवृति भने विस्तारै बढ्दै गएकाे छ । जलविद्युत क्षेत्रमा लगानी ठूलो लाग्ने भएका कारण केही साना निजी कम्पनीकर्ताहरू यसतर्फ आकर्षित हुँदै गएका छन् । यससँगसगै उर्जाको मागलाई सम्बोधन गर्न वैकल्पिक उर्जाको खोजी गर्दै सरकारले सौर्य विद्युत्को क्षेत्रमा पनि काम अगाडि बढाइरहेको छ ।