काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।
घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् भने सत्तारुढ दल कांग्रेसका महामन्त्रीले पनि घिसिङ हटाउने निर्णयको बिरोध गरेका छन् ।