काठमाडौँ । इण्डियन इनर्जी एक्सचेञ्ज (आईइएक्स) बाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएसँग औद्योगिक क्षेत्रको लोडसेडिङ घटेको छ । यसअघि १२ घण्टा लोडसेडिङ खेपिरहेको औद्योगिक कोरिडोरमा लोडसेडिङ ६ घण्टामा घटेको हो ।
यसअघि भारतले प्रोजेक्ट स्टेरिङ कमिटी (पीएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति समेत रोक्दा पूर्वको औद्योगिक कोरिडोरमा रातको समयमा १२ घण्टा लोडसेडिङ भइरहेको थियो । अहिले लोडसेडिङ घटेपनि साँझको पिकआवरमा भने विद्युत् कटौती कायमै छ ।
आईइएक्स प्रतिस्पर्धी बजारबाट सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) बाहेक थप ४ घण्टा ६०० मेगावाट विद्युत् ल्याउन पाउने गरी भारतले स्वीकृती दिएसँगै आद्याेगिक क्षेत्रमा बिजुली आपूर्ति बढेकाे छ । ऊक्त विद्युत् ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल आउनेछ ।
भारतले हाल जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा मात्र १४०० मेगावाट विद्युतु उपलब्ध गराउँदै आएको थियो । भारतले विद्युत् दिन स्वीकृत गरेसँगै औद्योगिक क्षेत्रमा शनिबारदेखि लोडसेडिङ घटेको जनाइएको छ ।
चैतदेखि औद्योगिक करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति कटौती हुँदै आएको थियो । शनिबारदेखि कोरिडोरले विद्युतमा केही राहत पाएको उद्योगहरू बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा मुलुकमा लोडसेडिङ मुक्त घोषणा गरे पनि पूर्वको सुनसरी मोरङ औद्योगिक क्षेत्रले त्यसको केही समय छाडेर अहिलेसम्म नियमित लोडसेडिङको मार भोग्दै आएको छ ।
मंगलबार प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्दै भारतबाट ल्याएर भए पनि लोडसेडिङ अन्त्य गर्ने बताएका थिए । प्राधिकरणको लोड डिस्प्याच सेन्टरका अनुसार भारतबाट ८०० मेगावाटसम्म आयात गरेर लोड व्यवस्थापन भइरहेको छ ।