काठमाडाैँ । सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले यही वैशाख ५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ दरको यो शेयर इलाम जिल्लाको इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालिका–१, माई गाउँपालिका–३ र ४, सूर्योदय नगरपालिका–१० तथा १ नम्बर वडाका स्थायी बासिन्दाहरूले आवेदन दिन सक्ने छन्।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा रहेर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन्।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका लागि खुला भएको आईपीओमा छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम मिति वैशाख १९ गते तोकिएको छ ।