काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) तथा गर्मियाम सुरु भएसँगै भारतमा समेत विद्युतको संकट भएपछि नेपालले चाहेजति विजुली किन्न पाएको छैन । जसका कारण औद्योगिक क्षेत्रमा बिजुली कटौती भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै विद्युत् व्यवस्थापनमा कठिनाइ भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने जानकारी दिएको छ ।
बिजुलीको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगे पनि उक्त समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
पीईसीमार्फत बेलुका ६ देखि बिहान ६ बजेसम्म अधिकतम ३५० मेगावाट बिजुली आयात गर्ने अनुमति पाएको छ । तर १३२ केभी सम्पतिया–मनैया प्रसारणलाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म ५० मेगावाट मात्र विद्युत् आपुर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।
‘भारतमा आईपीएल जारी रहँदा माग बढेकाले इन्डियन एक्सचेन्ज मार्केट (आइएक्स) को दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन सकेको छैन,’ विज्ञप्तिमा छ ।
भारतको प्रतिस्पर्धी बजार (आईएक्स) बाट बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म विद्युत् खरिद गर्ने अनुमति छ ।
‘राति ११ देखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दासमेत नेपाललाई ‘प्रो राटा’ आधारमा सप्लाई दिइने गरिएकाले मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत् प्राप्त हुन सकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।