नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले भारतले १२ घण्टा मात्र विद्युत् आयात गर्ने अनुमति दिएपनि ‘पिक आवर’ मा लोडसेडिङ नहुने बताएका छन् ।
‘भारतले बुधबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र विद्युत् आयात गर्न सक्ने गरी अनुमति नवीकरण गरेको छ,’ उनले आइतबार ऊर्जा संचारसँग भने, ‘पिक आवरमा विद्युत् आयात नभए पनि लोडसेडिङ हुँदैन, आन्तरिक उत्पादनबाट आपूर्ति गर्ने व्यवस्था गरिरहेका छौ ।’
अनुमतिपत्रको नवीकरण भएसँगै दिउँसोको समयमा हुन सक्ने लोडसेडिङ टरेको र सोमबारदेखि रातिको समयमा लोडसेडिङ हुने चर्चा बजारभरी छ । तर लोडसेडिङ नहुने घोषको दाबी छ । ‘आन्तरिक बिजुली बाटै आपूर्ति गर्ने व्यवस्था गरेका छौँ’ उनले भने ।
पछिल्लो केही दिनदेखि भारतले नेपालसँगको विद्युत् आयात अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङ सुरु हुन सक्ने आकलन गरिएको थियो । बुधबार भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मार्फत ५५४ मेगावाट विद्युत् आयात गर्न पाउने गरी तीन महिनाका लागि सम्झौता नवीकरण गरेको छ । त्यो पनि १५० मेगावाट घटाएर ५५४ मेगावाट मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो । नवीकरण अनुसार ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्ने स्वीकृत प्राप्त भएको छ ।
भारतले यसअघि विद्युत् आयात गर्न दिएको अनुमतिको म्याद आइतबार (मार्च ३१) सकिँदै छ । अब अप्रिल १ बाट लागु हुने गरी सम्झौता नवीकरण भएको हो । यसअघि एक वर्षका लागि हुने गरेको विद्युत् आयात सम्झौता यसपटक तीन महिना अर्थात २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको छ ।
नेपालले भारतको डेअहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ । यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ बैशाखमा अनुमति पाएको थियो । पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त रहेको छ ।
नेपालले भारतसँग १० वर्षभित्र १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालुवर्ष भारततर्फ विद्युत् बिक्री गरेर १५ अर्ब २४ करोड रुपैयाँको आम्दानी गरेको थियो ।