Thursday, December 5, 2024
spot_img

नेपालमा पक्का कुद्ने भाे ग्रीन हाइड्रोजन कार

spot_img

Share

spot_img

काठमाडौँ विश्वविद्यालय (केयु)ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापना गरी सफल परीक्षण गरेको छ । केयुले नेपालमै पहिलोपटक हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन रिफ्युलिङ गर्ने कार्य सुरु गरेको हो । हाइड्रोजन गाडीमा भर्ने प्रविधिको परीक्षण सफल भएसँगै अब नेपालमा हाइड्राेजन कार कुद्ने पक्का भएकाे छ ।

ग्रीन हाइड्रोजन उत्पादन गरी इन्धनको रूपमा हाइड्रोजन गाडीमा भर्ने प्रविधिको परीक्षण सफल भएको केयुका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए । ‘रिफ्युलिङ स्टेसनको परीक्षणपछि अहिले हाइड्रोजन कारमा ग्रीन हाइड्रोजनलाई इन्धनको रूपमा भर्न थालिएको छ,’ उनले भने, ‘पहिलो पटक भएकाले हाइड्रोजन कारमा विस्तारै भर्ने कार्य भइरहेको छ ।’

ग्रीन हाइड्रोजनको क्षेत्रले केयुले गरेको परीक्षण निकै ठूलो उपलब्धी रहेको बताउँदै थापाले यो उपलब्धीले हामी ग्रीन हाइड्रोजनलाई ऊर्जाको रूपमा उपयोग गर्ने दिशामा एक कदम अगाडि बढेको जानकारी दिए । उनले नवनिर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रीन हाइड्रोजनबाट चल्ने कारमा चढाएर गर्ने तयारी गरिरहेको बताए । ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटनपछि केयुसँग भएको हाइड्रोजन गाडी हाइड्रोजन इन्धनको प्रवर्द्धन गर्न विभिन्न स्थलमा लगेर प्रदर्शनीमा राखिने थापाले बताए ।

केयुमा नमूनाका रुपमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापनाले व्यवसायीहरूले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा भविष्य देख्ने अपेक्षा गरेको पनि उनले बताए । बैशाखमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडी प्रदर्शनमा राख्ने केयुको योजना छ । साथै, हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको दिन राष्ट्रपति रामचन्द्र पौडेललाई हाइड्रोजन गाडी चढाउने तयारी केयुले गरेको छ ।

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न प्रमुख राजनितिक दलका शीर्ष नेता, प्रतिनिधिसभाका सभामुख लगायतलाई पनि हाइड्रोजन गाडी चढाउने थापाले बताए । शीर्ष नेता तथा राजनितिक दलका प्रतिनिधिले ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवद्र्धन गरी इन्धनको रूपमा उपयोग बढाउन प्रोत्साहन गर्दा नेपालले हाइड्रोजन इन्धनबाट चल्ने गाडीलाई स्वीकार गर्ने वातावण निर्माणमा सहयोग पुग्ने थापाको भनाई छ ।

केयूले दैनिक ३० देखि ३५ वटा गाडीलाई प्रत्येक दिन रिफ्युल गर्ने सक्ने गरी रिफ्युलिङ स्टेसनको डिजाइन तयार पारेको छ । ‘हामीले पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको डिजाइन तयार गरेका छौं । यो रिफ्युलिङ स्टेसनमा लाग्ने उपकरण आयात गर्न उत्पादक कम्पनीसँग संवाद भइरहेको छ’, उनले भने ।

यस्तै प्रकारका पाइलट प्रोजेक्ट काठमाडौँ, पोखरा, विराटनगर, हेटौंडा, भरतपुर लगायत मुख्य सरहमा पनि निर्माण गरेर हाइड्रोजन गाडीको संख्या बढाउँदै लैजाने केयूको योजना छ । देशका मुख्य सहरमा पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको निर्माण गरी सञ्चालनमा ल्याउँदा मात्रै नेपालमा ग्रीन हाइड्रोजनको बजार बढ्न गई पेट्रोलियम ऊर्जाको खपत न्यूनिकरण गर्न सकिने उनले बताए ।

सरकारले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा निजी क्षेत्रको लगानी भित्र्याउन ‘ग्रीन हाइड्रोजन नीति, २०८०’ जारी गरिसकेको छ । तर, ग्रीन हाइड्रोजन उत्पादनका लागि कार्यविधि बनेको छैन । नीति कार्यान्वयन हुने संस्थागत संरचना पनि बनेको छैन ।
ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा चाँडोभन्दा चाँडो जान कार्यविधि तयार गरी संस्थागत संरचना निर्माण गरिनुपर्नेमा थापाले जोड दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img