काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको बताए । शुक्रबार स्युचाटार सबस्टेसनमा पत्रकार सम्मेलन गरी प्राविधिक कारणले आपूर्तिमा समस्या भएकाे बताएका हुन् ।
उत्पादन सँगै माग र प्रणाली बढ्दै जाँदा पूर्वाधार भने कमजाेर भएकै कारण यस्ताे समस्या भएकाे उनकाे दाबी छ । जलवायु परिवर्तनले सानो क्षेत्रमा हावाहुरी र वर्षाका कारणले पनि यस्तो घटना भएको बताए ।
‘हिजो केही घण्टा प्राविधिक समस्याले बिजुली काटिनु कुनै लोडसडिङ होइन । फेरि झ्यापझ्याप बत्ति गयो इन्भर्टर र व्याट्रीको खोजीको कुरा सामाजिक सञ्जालमा आएको छ। यसको भ्रममा नपर्नुहाेस् । यसलाई सुधार गर्न प्रयासरत छौं । यस्ता प्राविधिक कठिनाइ आजको भोलि सुधार हुँदैन । यस्ता कमजोर अवस्था आउन समय लाग्छ र सुधार गर्न नि समय लाग्छ’ उनले भने ।
‘यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ । यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ । यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार गर्दै लान्छौं ।’
‘स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या छ । ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको छ’ उनले भने ‘सिस्टमले नधानेका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो, माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन पनि प्रसारण लाइन पूर्वाधार बढाउँदै जानुपर्छ ।’
शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् । विद्युतीय पूर्वाधार तीव्र गतिमा विस्तार गरिएन भने आगामी दिनमा पनि बिहीबारकाे जस्तै समस्या दाेहाेरिने र ठूलाे शंकट निम्तिने उनले बताए ।
अहिले साेचेअनुरूपमा विद्युतीय पूर्वाधारमा लगानी हुन सकेकाे छैन । लगानी भएकाे ठाउँमा पनि स्थानीयकाे अवराेध, वनकाे समस्यालगायत विविध कारणले काम राम्राेसँग हुन नसकेकाे पनि उनले जानकारी दिए । अहिले २४०० मेगावट सिस्टमको छ तर उत्पादन भने ३५०० मेगावाट रहेकाे छ ।
उत्पादन र प्रणालीकाे तालमेल नमिलेकाे कारणले भएकाे हिजाेकाे घटनाले पाठ सिकाएकाे शाक्यले बताए । ‘प्राधिकरणको संरचनामा लगानी गर्नुपर्ने अवस्था छ । यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिने हो भने ऊर्जा क्षेत्रमा ठूलो समस्या र संकट ल्याउँछ । जुन रुपमा उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क बनाउन सकेनौं भने स-साना घटनामा ट्रिप भइरहने अवस्था आउँछ’, उनले भने ।








