काठमाडौँ । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पाउनका लागि चिनियाँ कम्पनी ज्याङ्सी कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेशसन (जेसीई) ले फर्जी कागजात पेश गरेको आधिकारीक रुपमा खुलेको छ । जगदुल्ला निर्माण गर्न माग गरेअनुसारको अनुभव पुर्याउन ज्याङ्सीले नक्कली कागजात पेश गरेको पुष्टि भएको छ ।
ज्याङ्सीले चीनमा ९० मेगावाटको साङचेङ जलविद्युत् आयोजना निर्माण गरेको अनुभव पेश गरेको थियो । जबकि, यो आयोजना आर्थिक कारणले अघि नबढेको र आयोजना नै रद्द भएको पुष्टि भएको छ । ज्याङ्सीले यो आयोजना हेजाउ शाङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर निर्माण गरेको भनि फर्जी कागजात पेश गरेको थियो ।
त्यही हेजाउले गत बिहीबार जगदुल्ला हाइड्रो पावरलाई आफ्नो कम्पनीको नाम र छाप नक्कल गरी अवैध रुपमा प्रयोग गरेको भनि जानकारी दिएको छ । अहिले ज्याङ्सीले जसको लागि आयोजना निर्माण गरेरदिएँ भनि जगदुल्लालाई घुमाइरहेको थियो, त्यही कम्पनीले जगदुल्लालाई पत्रमार्फत त्यस्तो कुनै प्रकारको आयोजना निर्माण गर्न नै नलगाएको जानकारी दिएको छ ।
हेजाउले जगदुल्लालाई लेखेको पत्रमा छ ‘शाङचेन इलेक्ट्रिक पावर कम्पनी लिमिटेड र शाङचेन जलविद्युत् आयोजनाको नाममा दुरुपयोग गर्दै हेजाउ शाङचेन इलेक्ट्रिक पावर कम्पनी लिमिटेडको पुनस्थापनाको फाइदा उठाउँदै जगदुल्ला आयोजनामा कपटपूर्ण गतिविधिहरूमा संलग्न भएको छ ।’
नक्कली कागजात राखेर प्राविधिक मूल्यांकनमा पर्न सफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन आयोगमा समेत यो विषय पुगेको थियो । जगदुल्ला हाइड्राे पावरले ज्याङ्सीले पेश गरेकाे विवरण र कागजात कै आधारमा प्राविधिक मूल्यांकनबाट छनाेट गरेकाे छ । जबकि, यस्ताे ठूलाे आयाेजना निर्माण गर्नका लागि आवेदन दिने वा भविष्यमा ठेक्का पाउन सक्ने कम्पनीकाे बारेमा केही थप अध्ययन, अनुसन्धान गरेकाे पाइएन । यही कम्पनीलाई ठेक्का दिलाउनका लागि पनि याे पक्षलाई बेवास्ता गरिएकाे हुन सक्छ ।
अहिले ज्याङ्सीका कर्मचारी भाग्न थालेका छन् । यसअघि सम्पर्कमा भएपनि आयोगले अनुसन्धान थालेपछि ज्याङ्सीका कर्मचारी सम्पर्कमा आउन सकेनन् । आफु ब्लाक लिस्टमा पर्ने सम्भावना भएपछि अहिले जगदुल्लाकै ठेक्का रद्द गराउन ज्याङ्सी लागि परेको छ ।
जगदुल्लाको टेण्डर भर्दा ज्याङ्सीले नेपालमा अन्य कुनै आयोजनामा काम गरेको भए विवरण खुलाउन माग गरिएपनि ज्याङ्सीले नेपालमा कुनै पनि आयोजनामा संलग्न नभएको घोषणा गरेको थियो । जबकि नेपाली सेनाले ठेक्का लगाएको फास्ट ट्रयाकको प्याकेज ९ ‘ए’ मा ज्याङ्सीले नेपाली ठेकेदार हनुमान बानियाँसँग मिलेर गरिरहेको छ ।
जगदुल्लामा ज्याङ्सीले साझेदार बनाएको नेपाली ठेकेदार कम्पनी एएनकेसँग पनि जलविद्युत् आयोजना निर्माण गरेको केही अनुभव छैन । यो विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र जगदुल्लाका प्रमुम कार्यकारी अधिकृत सञ्जय सापकोटा तानिएका छन् ।
नक्कली कागजात पेश गरेको उजुरी परेपनि ठेक्का प्रक्रियालाई निरन्तर अघि बढाइएपछि ज्याङ्सी र एएनकेलाई ठेक्का दिलाउन मन्त्री खड्का र प्रमुख कार्यकारी अधिकृत सापकोटाको मिलेमतो रहेको स्रोतले ऊर्जा संचारलाई भने । मन्त्री खड्काको गहिरो चासो रहेको यस ठेक्का प्रकरणमा उनकै कारण शर्त थप्ने, म्याद थप हुने, रद्द हुने, पुनः ठेक्का हुने क्रियाकलाप हुँदै आइरहको पनि स्रोतको दाबी छ ।
यसअघि पनि जगदुल्लाको पहिलो ठेक्कामा मन्त्री खड्काले चेक लेनदेन गरेर सेटिङ भएको खबर आएपछि विविध कारण देखाउँदै ठेक्का नै रद्द गरिएको थियो । इन्जिनियरीङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का लिनका लागि आवेदन दिएकामध्ये ४ कम्पनीलाई प्रतिस्पर्धा छाड्न ठेक्का मूल्यको एक/एक प्रतिशत रकमको चेक खड्काकै कार्यकक्षबाट बाँडिएको विषय चर्चामा आएको थियो । जसका कारण ठेक्का नै रद्द भएको थियो ।
याे त बाहिर आएकाे एउटा घटना मात्रै हाे । अन्य सयाैँ जलविद्युत आयाेजनामा पनि यस्तै फर्जी कागजात पेश गर्दै पावर र पहुँचका भरमा आफ्नै निकटमा मान्छेलाई ठेक्का दिलाउने प्रचलन छ । जगदुल्ला जस्तै थप अध्ययन अनुसन्धान नगरी ठेक्का प्रक्रिया अघि बढाइएमा आगामी दिनमा जलविद्युत आयाेजनामा लगानी भएकाे खर्बाै रुपैयाँ जाेखिममा पर्ने निश्चित छ । साथै, आमजनताकाे लगानी डुब्ने छ । कम्पनी नै हाँक्छु भनेर लागेका र उच्च ओहाेदामा रहेका व्यक्तिहरूले नियमन गर्नुपर्नेमा यसरी मिलेमताेमा फर्जी वा अनुभव नै नभएकाे कम्पनीलाई ठेक्का दिलाउन खाेज्नु पदकाे दुरुपयाेग मात्र नभइ भ्रष्टाचारकाे पराकाष्ट हाे ।
आयोजनाको विवरण
आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।
अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् ।
योजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।
आयोजनाको लगानी
कम्पनीले आयोजना निर्माणका लागि गत जेठ २ गते मात्रै वित्तिय व्यवस्थापन गरेको थियो । सम्झौताअनुसार आयोजनामा आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।
नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।
पीपीए
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पीपीए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।
उत्पादन अनुमति
कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।











