नेपालमा पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गर्ने कम्पनी निकै भइसकेका छन् । ऊर्जासँग प्रत्यक्ष जोडिएर काम गर्ने निजी तथा सरकारी कम्पनी, व्यक्ति र सर्वसाधारणलाई एकै थलोमा जमघट गर्ने उद्देश्यका साथ नेपालमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना गर्न लागिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त रूपमा वैशाख १२ गतेदेखि आयोजना गर्न लागिएको एक्स्पोको तयारी व्यापक भइरहेको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ भृकुटी मण्डपमा आयोजना गर्न लागिएको एक्स्पोका विषयमा इप्पानका प्रमुख कार्यकारी अधिकृत भिमप्रसाद गौतमसँग ऊर्जा संचारले गरेको संवादको सार संक्षेपः
हिमालयन हाइड्रो एक्स्पोको तयारी कस्तो भइरहेको छ ?
यो हिमालयन हाइड्रो एक्स्पो चौथौं संकरण हो । यो एक्स्पो आगामी बैंशाख १२, १३ र १४ गते हुँदै छ । यसको तयारीका लागि विगत एक महिनाअघिदेखि विभिन्न बैठक, छलफलहरू गर्दै आएका छौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको संरक्षकत्वमा यो कार्यक्रम भईरहेको छ । एक्स्पोबारे मन्त्रालयसँग छलफल पनि गरिरहेका छौ । यसैगरी लगानी बोर्ड नेपालका पनि एक्स्पोको संरक्षक छ । भारत, अमेरिका जर्मनलगायतका देशकाे समेत स्टल रहने भएकोले बुकिङको काम भइरहेको छ । एक्स्पो अवधिभर ७ वटा प्राविधिक सत्र हुँदैछ यसका लागि तयारी गरिरहेका छौ । एक्स्पोमा धेरै संस्थाहरूको सहभागिता हुनेछ । ती संस्थाहरूसँग आपसी समन्वय गरेर यसको तयारी व्यापक रूपमा गरिरहेका छौ ।
हाइड्रो एक्स्पोको मूल्य उद्देश्य के हो ?
नेपालको ऊर्जा क्षेत्रको प्रवद्र्धन र विकासका लागि सन्देश दिने हिमालयन हाइड्रो एक्स्पोको मुल उद्देश्य हो । सन्देशमार्फत सर्वसाधारणदेखि नीति निर्मातासम्मलाई जानकारी दिएर नेपालमा जलविद्युत् निर्माणका लागि उचित वातावरण निर्माण गर्ने र जलविद्युत् उत्पादनमार्फत देशको आर्थिक समृद्धिका लागि सहयोग गर्ने हो । त्यही भएर हामीले नारा पनि ‘समृद्धिका लागि हरित ऊर्जा’ राखेका छौ । मुख्य उद्देश्य भनेको सर्वसाधारण, लगानीकर्ता, प्रवद्र्धक, आपूर्तिकर्ता, उपकरण उत्पादक, विज्ञ लगायत सबैलाई एकै ठाउँमा भेला हुने, छलफल गर्ने र समस्या पहिचान गर्ने, समाधान गर्ने रहेको छ ।
यसअघि तीन वटा एक्स्पो भइसकेका छन्, तिनीहरूलाई कसरी समिक्षा गर्नुहुन्छ ? र यो एक्स्पो अरु भन्दा किन फरक छ ?
हिमालन हाइड्रो एक्स्पो इप्पानबाट सञ्चालन गरिने ऊर्जासँग सम्बन्धित सबैभन्दा ठूलो एक्स्पो हो । इप्पानले एकवर्ष पावर समिट र अर्को वर्ष हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्छ । पावर समिट विशेषगरी नीतिमा केन्द्रीत हुन्छ भने हाइड्रो एक्स्पो उत्पादन तथा वस्तुहरूको प्रर्दशनीमा केन्द्रीत हुन्छ । एक्स्पो निर्माण कम्पनी, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, वित्तीय सस्था, उपकरण प्रर्दशनी, ऊर्जा क्षेत्रमा आएका नयाँ प्रविधिहरू लगायत वस्तुदेखि विज्ञसम्मको जमघट गर्ने महत्वपूर्ण थलो हो । विज्ञहरूसँग छलफल गरेर र प्रर्दशनीमा राखेका स्टल हेरेर ऊर्जा सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिन्छ ।
विगतका एक्स्पोमा भन्दा आउँदो एक्स्पो नेपालको विद्युत् उत्पादनमा अघि बढ्नेहरूका लागि उपयुक्त मञ्च तथा अवसर बन्नेछ । विगतको भन्दा अझ राम्रो र फरक नतिजा दिनेमा विश्वस्त छौ । अहिले धेरै नयाँ प्रविधि आइसकेका छन् । हाइड्रोजन ऊर्जाको विषय छ । अहिले नयाँ प्रविधिको नवीकरणीय ऊर्जाको विषय छ । सौर्य ऊर्जाका पनि धेरै नयाँ प्रविधि आएका छन् । ती प्रविधिहरू पनि समावेश हुन्छन् । थुप्रै खालका नयाँ नयाँ उत्पादक तथा आपूर्तिकर्ता आएका छन् ।
हाइड्रो एक्स्पोमा कति वटा स्टल रहन्छन् र अहिलेसम्म कति स्टल बुकिङ भए ?
अहिलेसम्म बुकिङको व्यापक रूपमा भइरहेको छ । यसमा ब्लक ‘ए’, ‘बी’ र ‘सी’ भनेर छुट्याइएको छ । अहिलेसम्म करिब ६० प्रतिशत स्टलहरू बुकिङ भइसकेका छन् । ब्लक ‘ए’ र ‘बी’ का अधिकांश स्टल बुक भइसकेका छन् भने ब्लक ‘सी’ को भने बाँकी छ । ब्लक ‘ए’ मा ४८ वटा मध्ये १३ वटा मात्र बुक हुन बाँकी छ । ब्लक ‘बी’ को २२ वटै स्टल बुक भइसकेका छन् र ब्लक ‘सी’को १५ वटै स्टल बुक हुन बाँकी छ । बाकी स्टलहरूका लागि पनि प्रस्ताव आइरहेको छ भने केहीले बुकिङका लागि होल्ड गरेका छन् । अहिलेसम्म जापान, अमेरिका, अस्टे«लिया, जर्मन, भारतलगायत गरी करिब १२ विदेशी कम्पनीले स्टल बुक गरेका छन् । बुकिङ भएकामध्ये ५० प्रतिशत विदेशी स्टल छन् । स्टल राख्नका लागि ब्लकअनुसार न्यूनतम साढे ३ लाखदेखि ११ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ ।
एक्स्पोमा अवलोकनकर्ताका लागि प्रवेश शुल्क लाग्छ कि निशुल्क हुनेछ ?
ऊर्जा क्षेत्रसँग सम्बन्धित सबैको जमघट एउटै स्थलमा गराउने र ऊर्जा सम्बन्धी जानकारी सबैलाई होस भन्ने उदेश्यले नै यो एक्स्पो गर्न लागिएको हो । त्यही भएर सर्वसाधारणको प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । सबैले निशुल्क रूपमा एक्स्पोको अवलोकन गर्न सक्नेछन् ।
हाइड्रो एक्स्पोमा विद्यार्थीहरूका लागि भिडियो प्रतियोगिता पनि राखिएको छ । यो कस्तो प्रकारको प्रतिश्पर्धा हो ?
यो छोटो भिडियो प्रतिस्पर्धा हो । यसमा एक्स्पोको नारा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने तथा जलविद्युत सम्बन्धि सामाग्री एवं सेवासँग सम्बन्धित ‘आइडिया’ प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिश्पर्धा गर्न पाउनेछन् । हरेक प्रतिस्पर्धाका विजेताले ४४ ÷४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई २२ हजार रुपैयाँ र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र दिने व्यवस्था गरेका छौं ।
३ दिन चल्ने यति ठूलो एक्स्पोको लागि खर्च पनि ठुलै हुन्छ होला । यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
यसको आम्दानीको स्रोत भनेको स्टल राखेवापत आउने आम्दानी हो । हामीले स्टल राख्नका लागि साढे ३ लाखदेखि ११ लाख रुपैयाँ सम्मको मूल्य तोकेका छौ । बाँकी भनेको प्रयोजन गर्ने, सहप्रयोजन छन् । त्यही रकमबाट खर्च व्यवस्थापन हुने अपेक्षा गरेका छौ । एक्स्पो अवधिभर करिब ५ करोड रुपैयाँ बढीको कारोबार गर्ने लक्ष्य गरिएको छ ।
हामीले हाइड्रो एक्स्पो भनिरहेका छौ । यसमा हाइड्रो सम्बन्धी स्टल मात्र हुन्छ की अन्य ऊर्जा सरोकारवाला पनि हुन्छन् ?
हामीले सुरुमा हाइड्रो एक्स्पो भनेर नाम राख्यौँ । यसअघिका ३ वटा एक्स्पोमा यसको एउटा ब्रान्ड बनिसक्यो । नाम हाइड्रो भएपनि एक्स्पोमा हाइड्रो पावरबाहेक अन्य विद्युतको क्षेत्रमा लागेका व्यक्ति, कम्पनी, संस्थाहरू समेत आउनु हुन्छ । एक्स्पोमा सोलार, हाइड्रोजन, बैंक तथा वित्तीय, विद्युतीय सवारी उत्पादक र बिक्रेता, हेभी इक्विपमेन्टका उत्पादकहरूको समेत उपस्थिति रहन्छ ।
एक्स्पोमा हाइड्रोजन सम्बन्धी स्टल पनि हुन्छ ?
काठमाडौँ विश्वविद्यालयसँग हालै सञ्चालनमा आएको हाइड्रोजनाबाट चल्ने कार प्रदर्शनीमा राख्नका लागि कुरा भइरहेको छ । साथै, हाइड्रोजन कारको प्रचारप्रसारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई हाइड्रोजन चढाउने योजना पनि छ तर अहिलेसम्म टु्ंगो भने लागेको छैन ।
एक्स्पोमा अवलोकनकर्ता कति उपस्थित हुने अपेक्षा गर्नुभएको छ ?
अहिले निर्माणाधीन, निर्माणमा जाने चरणमा तथा निर्माण सम्पन्न भएका आयोजनामा सर्वसाधारणको सेयर लगानी छ । ५० प्रतिशत नेपालीको कुनै न कुनै रूपमा हाइड्रोमा लगानी छ । ऊर्जा क्षेत्र प्रत्यक्ष सर्वसाधारणसँग जोडिएको छ । सबैको लगानीको क्षेत्र बनेको यो क्षेत्रमा सबैको चासो रहेको पाइन्छ । त्यसैले यो ३ दिने अवधिमा बढी भन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरेका छौ । ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण कम्पनी, बैंक, वित्त, बीमा, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतको उपस्थिति हुनेछन् ।
एक्स्पो अवधिभर कति वटा प्राविधिक सत्र हुन्छन् र कस्तो कस्तो विषयमा हुन्छन् ?
३ दिने अवघिधर ७ वटा प्राविधिक सत्र हुन्छन् । नीति, ऊर्जा व्यापार, प्रविधि, ऊर्जा क्षेत्रको समावेशी, वित्तीय व्यवस्थापन, आन्तरिक माग र माग बढाउने लगायतका विषयमा प्राविधिक सत्र हुनेछ ।
पहिलो दिन इलेक्ट्रिक भेहिकल -यााली हुने भनिएको छ ? यो -यालीमा कहाँदेखि कहाँसम्म र को को सहभागी हुँदैछन् ?
एक्स्पोको पहिलो दिन उद्घाटन सत्र अगाडि विद्युतीय सवारी साधनसहितको इभी -याली हुँदैछ । यो -याली बिहान साढे ६ बजेखि काठमाडौँको स्काई टावरबाट सुरु भएर भृकुटीमण्डपमा अन्त्य हुनेछ । ग्रीन इनर्जी, नवीकरणीय ऊर्जाको कुरा गरिरहँदा र सन् २०४५ सम्म शुन्य कार्बन उत्सर्जनमा योगदान पुर्याउने गरी स्वच्छ ऊर्जाको प्रवर्द्धनबाट विद्युतीय गाडी तथा स्कुटरको उपयोग बढाउने उद्देश्यले इभी -याली गर्न लागेका हौं ।
विद्युतीय सवारीको प्रवद्र्धन गरी पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्ने उदेश्यका साथ गर्न लागिएको ¥यालीमा इभी प्रयोगकर्ता, इभी बिक्रेता, इभी प्रयोग गर्ने जलविद्युत प्रवद्र्धक, इप्पान पदाधिकारी लगायत सबैको सहभागिता रहनेछ । ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रवर्द्धक, लगानीकर्ता, परामर्शदाता पनि सहभागी हुनेछन् ।
लगानी सम्मेलन पनि हुँदै छ । यो एक्स्पोले लगानी सम्मेलनलाई के कस्तो फाइदा पुर्याउँछ ?
सरकारले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ । यो एक्स्पोले लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गर्छ । यो एक्स्पो विदेशी कम्पनीहरूलाई पनि आफ्नो उपकरणको प्रचारप्रसार र नेपालमा आफ्नो ‘विजनेस’ प्रवर्द्धन गर्ने ठूलो अवसर हो ।
आगामी बैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा हुन लागेको एक्स्पोको उद्देश्य त्यो सम्मेलनलाई सफल बनाउनका लागि योगदान दिनु पनि रहेको छ । विशेष गरी एक्स्पोमा सहभागी भएर ऊर्जाबारे सम्पूर्ण रुपमा जानकारी लिन सक्छन । एक्स्पोले लगानीकर्तालाई उत्साहित बनाउँछ । उत्साहित उनीहरुले लगानी सम्मेलनमा ऊर्जा आयोजनाहरूमा लगानीको प्रतिवद्धता पनि जनाउँछन् । विशेष गरी अघिल्ला लगानी सम्मेलनहरूमा सबैभन्दा बढी ऊर्जामा प्रतिवद्धता आएको छ । यस बर्ष एक्स्पो र लगानी सम्मेलन सँगसँगै हुन लागेकोले ऊर्जा क्षेत्रमा लगानी ल्याउनका लागि यसले ठूलो माहोल सिर्जना गर्नेछ । लगानी सम्मेलनलाई सफल बनाउनका लागि पनि यसले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।