विश्व बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशत वृद्धि हुने अनुमान छ । बैंकको अर्धवार्षिक प्रकाशन ‘कन्ट्री डेलभपमेन्ट अपडेट’ का अनुसार यो वर्ष रेमिट्यान्समा देखिएको उल्लेख्य वृद्धिले पनि निजी उपभोग समेत बढ्ने अनुमान गरेको हाे ।
पर्यटन क्षेत्रको गतिविधिमा आएको सुधार र जलविद्युत्काे उत्पादन, खपत र निर्यात बढ्दा नेपालले सो आर्थिक वृद्धि हासिल गर्ने बैंकले प्रक्षेपण छ । आगामी आव ०८१/८२ मा ४.६ प्रतिशतको वृद्धि हासिल हुने प्रक्षेपण गरिएको छ ।
भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार देशको सुस्त वृद्धिका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने भन्दै बैंकले उक्त वृद्धि दर प्राप्तिलाई चुनौतीपूर्ण रहकाे जनाएकाे छ । बैंकका अनुसार प्रक्षेपित लक्ष्य हासिल गर्न व्यावसायिक वातावरणमा सुधार गरी धेरै निजी लगानी आकर्षित गर्न जरुरी छ ।
विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरेको हो । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ । जुन सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान छ । तर, प्रतिवेदनले यो अनुमान झुक्याउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकहरूको वृद्धि अझै पनि महाव्याधिपूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । अहिले सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ ।