Monday, July 14, 2025
spot_img

पावर समिट असोज १ र २ मा

spot_img

Share

spot_img

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान )को विशेष कार्यक्रम (IPPAN’s flagship event) को रुपमा सुपरिचित पावर समिट आगामी २०८२ सालको असोज १ र २ गते अर्थात तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको छ । यो पावर समिटको नारा Mission 28,500 MW: Powering Nepal, Energizing Region रहेको छ ।

कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३६०२ मेगावाट पुग्दा २९०० मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।

ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै निजी क्षेत्रले यति धेरै उत्पादन गर्न सफल भएको हो । हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ ।

निजी क्षेत्रकै अगुवाइमा ४२०० मेगावाट क्षमताका आयोजनाहरु निर्मााणाधीन अवस्थामा रहेको र ४१०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको तथा नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अर्न्तराष्टिय स्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २०२५ आयोजना हुँदैछ ।

नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरी यही नाराका साथ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारी (Country partner) का साथै विभिन्न राष्ट्रिय अर्न्तराष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरुको सहभागितामा वृहत रुपमा यो समिट आयोजना गर्न लागिएको हो ।

ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ ।

नेपालका प्रधानमन्त्री एवं विभिन्न देशका बिशिष्ठ व्यक्तित्वहरु, विज्ञहरु लगायतको सहभागितामा हुन लागेको यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौं संस्करण हो ।

यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरुको आदान प्रदान गर्ने जमर्को गर्नेछ ।

यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च अधिकारीहरु, निजी क्षेत्र तथा गैह्र सरकारी क्षेत्रका सरोकारवालाहरु गरी विगतका सम्मेलनको जस्तै एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

विशेष गरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशहरुको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत र कार्बन व्यापारसँगै नविनत्तम वित्तिय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरु निर्माणमार्फत क्षेत्रीय सम्पर्क (Regional Connectivity) विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकहरुको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अर्न्तराष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको छ ।

समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरुको सामनाका लागि नेपाल र अन्य देशहरुले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरुको अनुभव र अभ्यासहरुको बारेमा समेत समिटमा छलफल हुनेछ । यी मुद्दा र विषयमा केन्द्रित हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुने र यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिश्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img