काठमाडाैँ । नेपालमा १ हजार जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ । बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘ई–ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा याे योजना सार्वजनिक हुने भएको छ ।
यस योजनाअन्तर्गत १ हजार युनिट इलेक्ट्रिक स्कुटर न्यूनतम भाडामा दैनिक तेल खर्च सरहको दरमा प्रदान गरिनेछ । आफ्नै गाडी नभएका वा कमसल सेकेन्डह्यान्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम ७२ हजार रुपैयाँसम्म आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गर्न लागिएको हो ।
योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ । जसअन्तर्गत कर्मचारीको रुपमा नियुक्त भएर, राइडरको रुपमा दैनिक भाडामा स्कुटर लिएर र लगानीकर्ताका रुपमा आफ्नै ईभी स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी गर्न सकिन्छ ।
कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी यांगोसँग गरिएको छ ।