काठमाडाैँ । भोटेकोसी नदीमा आएको बाढी पहिरोले २३० मेगावाटका जलविद्युत् आयोजना प्रभावित भएका छन् । आज बिहान नदीमा आएको बाढीले १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशुली ३–ए, २१ मेगावाटको त्रिशुली, २२ मेगावाटको चिलिमे र १५ मेगावाटको बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।
२०८१ पुसदेखि उत्पादन थालेको रसुवागढीको अहिले उत्पादन बन्द छ । आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्याउँदा उत्पादन प्रभावित भएको हो । पुनःउत्पादन थाल्न केही समय लाग्ने जनाइएको छ । नदीमा आएको बाढीका कारण आयोजनाको ३१ कर्मचारी, इन्जिनियर फसेका छन् ।
बाढीले नेपाल–चीन जोड्ने मितेर पुल बगाएर रसुवागढी जलविद्युतको मुहान बाँधमा क्षति पुगेको, ठूलो बाढी आएकाले नदीको पारिपट्टि रहेको आयोजनास्थलका कर्मचारी उतै फसेका हुन् । बाढीले सडक बगाएको, आयोजनाको क्याम्प, मु्हान संरचना क्षेत्रमा रहेका कर्मचारीहरूलाई वारि ल्याउन नसकिएको जनाइएकाे छ ।
त्रिशुली ३–ए आयोजनाको भवनमा पनि बाढी पसेको र एउटा गेट नै बगाएकोले सञ्चालनमा आउन केही समय लाग्नेछ भने देवीघाट र त्रिशुली जलविद्युत् आयोजना सञ्चालन गर्न सकिनेछ । यस्तै, चिलिमेमा पसेको तेदो सफा गरेर सञ्चालन गरिनेछ ।








