नेपालको विद्यमान जलस्रोतको उपयोग गरी विद्युत् उत्पादनमार्फत वार्षिक खर्बौ रुपैयाँमा भइरहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापित गर्ने सरकारी लक्ष्य छ । विश्वका कैयौँ देश ऊर्जा बेचेर समृद्ध बनेका छन् । विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको नेपालले पनि ऊर्जा बेचेरै समृद्ध बन्नेतर्फ अघि बढेको छ ।
भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने दीर्घकालिन विद्युत व्यापार सम्झौता गरीसकेको छ । नेपाल सरकारले पनि १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र बनाएर अघि बढेको अवस्था छ । योसँगै संसारभर हरित ऊर्जाको कुरा जोडतोडका साथ उठिरहेको छ ।
नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न आगामी बैशाख दोस्रो साता ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ । विद्युत् आयोजना निर्माण गर्न अध्ययनकर्ता, इन्जिनियर, डिजाइनर, प्राविधिक, आपूर्तिकर्ता, उपकरण उत्पादक, लगानीकर्ता, बैंक, वित्तीय संस्था, प्रवर्द्धक लगायत सबैलाई एकैठाउँमा ल्याएर सहकार्य गर्न सक्ने वातावरण निर्माण गर्न यो एक्स्पो आयोजना गर्न लागिएको छ । यही एक्स्पोको विषयबारे एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानलाई ऊर्जासंचारले गरेको पाँच पश्नः
हिमालयन हाइड्रो एक्स्पो २०२४ का तयारी कसरी गरिरहनु भएको छ ?
एक्स्पोलाई भव्य रूपमा गर्ने उद्देश्यका साथ यसको तयारी व्यापक भइरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त रूपमा वैशाख १२ गतेदेखि १४ गतेसम्म हुने एक्स्पोको मार्केटिङ, प्रचारप्रसार र स्टल बुकिङको काम भइरहको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ आयाजना गर्न लागिएको यो चौंथो संरकरणको एक्स्पो हो । यसअघि तीन वटा एक्स्पो सफल रुपमा सम्पन्न भइसकेका छन् । एक्स्पोको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गराउने योजना छ ।
हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
नेपालमा ठूलो क्षमतामा जलविद्युत् उत्पादनको सम्भावना रहेको छ । त्यो सम्भावनालाई देखाउनलाई ‘मार्केट’ चाहिन्छ । जलविद्युतसँग सम्बन्धित निर्माण ठेकेदार, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण ठेकदार, टर्वाइन निर्माणकर्ता, आयातकर्ता लगायत सबै पक्षलाई एकै ठाउँमा ल्याएर यस क्षेत्रको विकासका लागि छलफल गर्ने, प्रचार प्रसार गर्नका लागि यो एक्स्पो गर्न लागिएको हो । ऊर्जा उत्पादनमा नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । विकसित प्रविधिले काम गर्न सहज हुनुका साथै लागत र समय घटाउछ । एक्स्पोमा विकसित नयाँ प्रविधिको पनि प्रर्दशन हुने अवसर मिल्छ ।
यो चौंथौ संस्करण हो, यसअघि सम्पन्न भएका तीन हाइड्रो एक्स्पोको तुलनामा यो एक्स्पोमा के फरकपन छ । नयाँ के समावेश हुन्छ ?
पहिलो हाइड्रो एक्स्पो हुँदा नेपालको जडित क्षमता करिब ७ सय मेगावाट मात्र थियो । अहिले करिब ३ हजार मेगावाट जडित क्षमता पुगेको छ । पहिलो हाइड्रो एक्स्पो हुँदा पूर्ण रूपमा लोडसेडिङमा थियौ र त्यो समयमा बत्ती नै छैन किन हाइड्रो एक्स्पो गर्ने भन्ने खालको प्रश्न पनि आउथे भने अहिले हामीसँग बत्ती छ त्यो बत्ती वा बिजुलीलाई के गर्ने, कता प्रयोग गर्ने, कसरी खपत बढाउने भन्ने खालको अवस्था सिर्जना भइसकेको छ । नेपालमा उत्पादित बिजुलीका लागि बजार छ, तर कहाँ छ ? खपतका क्षेत्रहरु पहिचान गरिनेछ । भारतले १० हजार मेगावाट विद्युत् लैजाने सम्झौता गरीसकेको छ । छिमेकी मुलुक तथा बंगलादेशमा बिजुली निर्यात बढाउने लगायतका विषयमा छलफल गरिनेछ ।
यो एक्स्पोमा नयाँ भनेको ग्रीन हाइड्रोजनबाट चल्ने कार हो । काठमाडौँ विश्वविद्यालयले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी कारको परीक्षण समेत गरिसकेको छ । एक्स्पोमा ग्रीन हाइड्रोजनबाट चल्ने कारदेखि हाइड्रोजन कसरी उत्पादन हुन्छ भन्ने लगायतको प्रदर्शनीमा रहने भएकोले एक्स्पोको मुख्य आकर्षक हुनेछ । साथै विश्वविद्यालयका विद्यार्थीहरूको हाइड्रो सम्बन्धित ‘सर्भिस’, ‘इनोभेसन’हरू पनि प्रदर्शनीमा हुनेछ । नयाँ पिडिलाई हाइड्रो सँग सम्बन्धित ज्ञान पाउने छन् र प्रवर्द्धकहरूले विद्यार्थीहको ‘आइडिया’ मन पराए भने प्रयोग पनि गर्न सक्नेछन् ।
एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने तथा जलविद्युत सम्बन्धि सामाग्री एवं सेवासँग सम्बन्धित ‘आइडिया’ प्रस्तुत गर्ने प्रतिश्पर्धा गराउँदैछौं । प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई २२ हजार रुपैयाँ र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र दिने व्यवस्था गरेका छौं ।
तपाईहरूले विभिन्न किसिमका एक्स्पोहरू गर्दै आउनु भएको छ । एक्स्पो आयोजना गर्दा के कस्ता समस्याहरू उत्पन्न हुन्छन् ?
एक्स्पो गर्दा मुख्य समस्या भनेको ‘भेन्यु’ हो । काठमाडौँमा भृकुटीमण्डपमा एउटा मात्र ‘भेन्यु’ छ । कुनै समयमा दुई वा सो भन्दा बढी एक्स्पो आयोजना गर्नुपर्ने अवस्था हुन्छ वा कुनै बेला ‘भेन्यू’ परिवर्तन गर्ने प्रस्ताव आउँछ तर हामीसँग ‘भेन्यु’ यही भृकुटीमण्डप मात्र भएकोले मुख्य समस्याको रुपमा चाँही यही रहेको छ । उपत्यका बाहेक बाहिर ठूलो ठूलो ‘भेन्यू’ बनिसकेका छन् । काठमाडौँमा भएको एउटा ‘भेन्यू’ पनि राम्रो अवस्थामा छैन । यसका लागि सरकारले भेन्यु बनाउनका लागि योजना अघि बढाउनुपर्छ र निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने काम हामी गर्न तयार छौँ ।
तपाइहरूले हाइड्रो लगायत विभिन्न एक्स्पो आयोजना गर्दै आउनु भएको छ । अरु एक्स्पोको तुलनामा हाइड्रो एक्स्पो आयोजना गर्दा के फरक हुन्छ ? के कस्ता चुनौति हुन्छन् ?
हाइड्रो एक्स्पो र अरु एक्स्पो आयोजनामा केही फरक भने हुन्छ । हाइड्रो भनेको ठूलो ‘स्केल’को भयो । अरु भनेको सेवा क्षेत्रको हुन्छ । हाइड्रो भनेको सबै क्षेत्रसँग जोडिएको छ । आमनागरीक, बैंक, उपकरण उत्पादक, आपूर्तिकर्ता, परामर्शदाता, प्रवर्द्धक, विद्यालय, विद्यार्थी, व्यवसायी, लगानीकर्ता लगायत सबै पक्षसँग जोडिएको हुन्छ । यसको क्षेत्र व्यापक रहेकोले सरोकारवालाको अपेक्षा पनि ठुलै हुन्छ जस्तो लाग्छ । अपेक्षितअनुसार एक्स्पो आयोजना गरी सफल बनाउन आयोजकका लागि चुनौतिपूर्ण हुन्छ । र अर्को भनेको सर्वसाधारणलाई यो क्षेत्रमा सहभागि गराउनु वा यसतर्फ लाग्न प्रेरित गर्नु पनि चुनौतिको रूपमा रहेको छ ।