Sunday, January 18, 2026
spot_img

ऊर्जा उज्यालो मात्र होइन, समृद्धिको आधार पनि हो : मन्त्री खड्का

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन् ।

विद्युत विकास विभागको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्री खड्काले भने, “हामीले भाषण धेरै गर्‍यौं, अब साँचिकै काम गर्ने समय हो । यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ । ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो ।”

मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै, “ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौं, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौं,” भन्ने धारणा राखे ।

मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता “देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने” रहेको उल्लेख गर्दै भने, “हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ ।” उनले भने, “AI (कृत्रिम बौद्धिकता) को युगमा प्रवेश गरिसकेका छौं, यो युग चलाउन ऊर्जा अनिवार्य छ । त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ ।”

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए । उनले निजी क्षेत्रको योगदानलाई समेत मूल्यांकन गर्दै भने, “सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायीत्व र प्रभावकारिता आउँछ।” यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले भने, “मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।”

उनले “समस्या छ भने पहिचान गरौं, अप्ठ्यारा छन् भने तिनको समाधान गरौं, अब समय गुमाउने होइन, सम्भावनालाई काममा बदल्ने हो” भन्ने प्रेरणादायी सन्देश पनि दिए ।

ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले आयोजना गरेको ३२ औं वार्षिकोत्सव समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालका प्रमुख सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी, सल्लाहकार, विभागीय प्रमुखहरू, विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति रहेको थियो ।

विद्युत विकास विभागका महानिर्देशक नविन राज सिंहको अध्यक्षतामा सम्पन्न सो समारोहमा विद्युत विकास विभागले प्रकाशन गरेको ‘विद्युत प्रवर्द्धन स्मारिका-२०८२’ लाई प्रमुख अतिथि ऊर्जामन्त्री दिपक खड्काले विमोचन गरेका थिए ।

कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुण कुमार झा (उपमहानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सम्मान गरिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img