काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रदूत एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको योगदानप्रति उच्च सम्मान प्रकट गरे । नेपाली काँग्रेसका नेता तथा महामानवका रूपमा परिचित विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा आज सुन्दरीजलस्थित विपी संग्रहालय प्राङ्गणमा आयोजित ‘विपी स्मरण कार्यक्रम’मा मन्तव्य दिंदै मन्त्री खड्काले विपी कोइरालालाई “नेपाली जनचेतना र अधिकारका प्रतीक”का रूपमा स्मरण गरे ।
“विपी कोइराला अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्,” मन्त्री खड्काले भने । उनले विपीले अपनाएको “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” प्रतिको अटल आस्थालाई स्मरण गर्दै थपे, “विपीले आफ्नो व्यक्तिगत जीवनको सुखसुविधा र सुरक्षाभन्दा विचार र मूल्यलाई महत्त्व दिनुभयो, त्यही क्षणदेखि नेपाली राजनीति जनमुखी यात्रातर्फ अग्रसर भयो।” मन्त्री खड्काले विपी कोइरालाको दीर्घ संघर्षले नेपाली जनतालाई “रैतिबाट मानिस” बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै भने, “विपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो तर जनताप्रति विश्वास गुमाउनु भएन । आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शक हो।”
राज्यले नागरिकका आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्ने दायित्वबोध विपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने बताउँदै मन्त्री खड्काले उहाँको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे ।
ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री खड्काले विपीको “आत्मनिर्भर राष्ट्र निर्माण” को सोचसँग ऊर्जा क्षेत्रको विकासलाई पनि जोड्दै भने, “आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौँ। विपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ।”








