काठमाडौँ । विद्युत् विकास विभागले २६ वर्षमा ४ हजार ४२२ मेगावाटका जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले २०५६ साल माघ २४ गतेदेखि हालसम्म सो क्षमताका आयोजनाको अध्ययन पूरा गरेको हो ।
विभागको नामकरण भएपछि यी आयोजनाको अध्ययन पूरा गरेको विभागले जानकारी दिएको छ । विभागले नदी प्रवाही, आंशिक जलाशययुक्त र जलाशय गरी ४५ आयोजनाको अध्ययन सम्पन्न गरेको हो ।
२०५० साल साउन १ गते तत्कालीन जलस्रोत मन्त्रालयको विभागीय इकाईको रूपमा ‘विद्युत् विकास केन्द्र’को स्थापना भएको थियो । सोही केन्द्रलाई २०५६ साल माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले ‘विद्युत् विकास विभाग’ नामाकरण गरेको थियो । नामाकरणसँगै विभागले विद्युत् आयोजनाको पहिचान, सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्ने कार्य शुरू गरेको थियो ।
जसमा नदी प्रवाहमा आधारित १३०३.८८ मेगावाटका आयोजना रहेका छन् । यसैगरी, ६०४.७७ मेगावाटका आंशिक जलाशययुक्त जलविद्युत् आयोजना र २५१४.०४ मेगावाटका जलाशय जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न गरेको विभागले जानकारी दिएको छ ।
अध्ययन सम्पन्न गरिएकामध्ये सबैभन्दा ठूला सिन्धुलीको ९७८ मेगावाटको सुनकोशी–२ आयोजना रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी–३ को पनि अध्ययन पूरा भएको छ । यी दुवै आयोजना जलाशयमा आधारित आयोजना हुन् ।
अर्को आयोजना ४९०.२ मेगावाटको अरुण–४ रहेको छ । यो कोसीको संखुवासभामा अध्ययन पूरा भएको नदी प्रवाहमा आधारित आयोजना हो । यही जिल्लामा ४७४.२५ मेगावाटको तल्लो अरुणको पनि अध्ययन पूरा भएको छ । यो आंशिक जलाशययुक्त जलविद्युत् आयोजना हो ।
जलाशयमा आधारित आयोजनामध्ये अर्घाखाँचीमा पहिचान भएको २८१.०४ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन सम्पन्न भएको विभागले जानकारी दिएको छ । ३०९ मेगावाटको सेती नदी–६ जलाशय जलविद्युत् आयोजना डाटीमा पहिचान भएको हो । यसको पनि अध्ययन पूरा भएको छ ।
यसैगरी, नदी प्रवाहमै आधारित ११० मेगावाटको दूधकोसी–५ को पनि अध्ययन सम्पन्न गरेको छ । यो आयोजना सोलुखुम्बुमा जिल्लामा रहेको छ ।








